काठमाडौं । जताततै अहिले १३औँ दक्षिण एसियाली खेलकूद (साग)कै चर्चा छ । आम सञ्चारमाध्यम, सामाजिक सञ्जाल, चिया पसल आदि इत्यादी । चर्चा सकारात्मक र नकारात्मक दुबै । सुरुमा कुरा गरौँ, सकारात्मक चर्चाको । दुई पल्ट सरेको १३औँ साग तेस्रो पल्ट सार्नु परेन । औपचारिक उदघाटनको अघिल्लो दिनसम्म पनि मुख्य खेल मैदान दशरथ रंगशालाको टेन्टिङ–पेन्टिङ चलिरहेकै थियो । जे सुकै भए पनि तोकिएकै मितिमा उदघाटन भइहाल्यो । अन्य खेल संरचना निर्माणको काम पनि अन्तिम समयसम्मै चल्यो । नेपाली खेलाडीको प्रर्दशनले आयोजक राष्ट्रको सान बढायो नै । सागको भव्य उद्घाटनले हतारमा पनि यत्तिको काम हुनसक्दो रहेछ भन्ने समेत प्रमाणणित गरिदियो । यी धेरै दृष्यले आयोजक एवं व्यवस्थापकका तर्फबाट भएका कमि कमजोरीलाई केही हदसम्म छोप्यो पनि ।
तर, केही ठाउँमा धोती समाल्दा सम्हाल्दै फुस्किहाल्यो । जस्तै, खेलाडीको व्यवस्थापन र पदाधिकारी एवं अफिसियलकाे सहभागिताको कुरा । यहिभित्रको एउटा लहरो दौरा–सुरुवाल किस्साले त अहिले पनि बजार तताइरहेको छ । यो घानमा नराम्ररी परेका भीआईपी हुन्, गृहमन्त्री रामबहादुर थापा । जसै गृहमन्त्री थापा १३औँ सागको ‘ब्याच’सहितको कोट र सेतो रङको दौरा सुरुवाल, कालो टोपी कालै जुत्तामा दशरथ रंगशालामा प्रकट भए, अखबारका पत्रकारको नजरमा परे ।
भोलिपल्ट भीआईपीको दौरा–सुरुवाल खबरको खास मसला बने, गृहमन्त्री । कारणः मन्त्रीको सपथ खाँदा थापाले दौरा–सुरुवाल लगाएको देखिएन । यस्तै, चिनियाँ राष्ट्रपति सी’को भ्रमणमा प्रधानमन्त्रीले विमानस्थलमा स्वागत गर्न जाँदा अनिवार्य दौरा–सुरुवाल लगाउनू भनेकामा उनी कोट पाइन्टमै प्रकट भए । तर, सागको उदघाटन समारोहमा अपत्याउँदो पाराले दौरा–सुरुवाल कोटमा प्रकट भएपछि पत्रकारले अनौठो नमान्ने कुरै भएन ।
अखबारमा आएको कुरानुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री थापासहित ४० भीआईपीलाई साग आयोजकले सित्तैमा दौरा–सुरुवाल र जुत्ता, मोजा दिएको थियो । जसमा अर्थमन्त्रीबाहेक सरकारका प्रवक्ताको पनि नाउँ थियो । सरकारका प्रवक्ताले आफुलाई घानमा पारिएकोमा पत्रकारको झाँको झारिसकेका छन् ।
तर, उनले शंका जन्माउने एउटा कुरा भने गरेका छन्, दौरा–सुरुवाल सिलाउने प्रस्ताव आएको तर आफुले नमानेको भनेर । उनले त्यो पैँसा बरु खेलाडीको सुविधामा खर्च गर्नुस् भनेर पठाएको पनि सुनाएका छन् । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले यसमा आपत्तिनै जनाएको कुरा छ । सरकारका प्रवक्ता र अर्थमन्त्रीको कुरा सत्य हो भने, आयोजकले भिआईपीलाई सित्तैमा दौरा–सुरुवाल दिएको कुरा प्रणाति हुन्छ । बजेट दिने अर्थमन्त्री नै रिसाउनु भनेको राम्रो लक्षण होइन । १३औँ साग तयारी तथा व्यवस्थापन सचिवालयका अधिकारीको कुराले पनि दौरा–सुरुवाल बाँडेको संकेत गर्छ ।
पदाधिकारी मानेर मन्त्रीहरुलाई पनि दौरा–सुरुवाल दिइएको सन्दर्भमा आयोजक एवं व्यवस्थापक मध्येका केही अधिकारीले विगतमा तत्कालीन युवराजाधिराजसम्मलाई पोसाक दिने गरिएको थियो र अहिले मन्त्रीलाई दिनु नौलो विषय होइन भन्ने तर्क गरेका छन् । पदाधिकारीको कुरा गर्ने हो भने, अहिले राष्ट्रिय खेलकूद परिषद बोर्ड अध्यक्ष खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा छन् । तर, उनीभन्दा माथि संरक्षकमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । शाही कालमा संरक्षक युवराजाधिराज रहने गरेका थिए, भने अहिले प्रधानमन्त्री छन् ।
यस्तै, परिषदको बोर्ड उपाध्यक्ष पिताम्बर तिम्सिना छन् भने सदस्य सचिव रमेश कुमार सिलवाल छन् । र, मन्त्रालयका सचिव राम प्रसाद थपलिया सदस्य छन् । यस्तै, नेपाल ओलम्पिक कमिटीतिरका पनि पदाधिकारी प्रष्टै छन् । यिनीहरुको खटनपटन कुनै नौलो कुरा भएन । खेलाडी, प्रशिक्षक, रेफ्रि, निर्णायक र अन्य अफिसियलहरुले त जहाँ गए पनि तोकिएको पोषाक लगाउनै परिहाल्यो, अर्थात् भने बमोजिम अर्नै परिगो ।
तर, अहिलेको दौरा–सुरुवाल वितरणलाई लिने हो भने सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशन समितिमा रहेकाहरुलाई पदाधिकारी मानियो । र, त्यो कुरा मन्त्रिपरिषदबाट पारित कार्यविधिमै लेखेको भनियो । तर, कार्यविधिले पदाधिकारी, खेल व्यवस्थापक, खेलाडी, प्रक्षिकलाई दौरा–सुरुवाल वा साडी, ब्लाउज दिने कुरा गरेको भने देखिएन । त्यहाँ समारोहमा सहभागि हुँदा चाहिने ‘ड्रेसकोड’मात्रै खुलाइएको छ । यदि कार्यविधि बाहिर गई साग आयोजनाका लागि बनेको उच्चस्तरीय समितिमा रहेका मन्त्रीहरुलाई दौरा–सुरुवाल र जुत्ता, मोजा वितरण गरिएको हो भने त्यो भन्दा लाजमर्दो केही हुनै सक्दैन ।
के भनिएको छ कार्यविधिमा ?
१३औँ दक्षिण एसियाली खेलकूद–२०१९ को व्यवस्थापन कार्यविधिको परिच्छेद ५ को दफा २५ मा पोषाक सम्बन्धि व्यवस्था छ ।
२५ (१)मा, बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आवश्यक खेल किड्स उपलब्ध गराउने, कुरा छ ।
२५ (२) मा, बाध्यकारी रुपममैः खेलकूदमा सहभागि खेलाडी, अफिसियल, कोच, म्यानेजर, रेफ्रि, निर्णायक लगायतका व्यक्तिलाई ट्राक्सुट, जुत्ता, मोजा, जर्सी, टावेलसहितका किड्स व्यवस्था गरिनेछ, भनिएको छ ।
२५ (३) मा, ‘खेलकूदमा खटिने स्वयंसेवक तथा सम्पर्क अधिकृतका लागि छुट्टै पहिचानसहितको पोषाक व्यवस्था गरिने छ’ भन्दै यसमा पनि बाध्यकारी व्यवस्था राखिएको छ ।
तर, दफा २५ (४) मा नेपालको तर्फबाट खेलकूदमा सहभागि हुने पदाधिकारी, खेल व्यवस्थापक, खेलाडी, प्रशिक्षक पुरुष भएमा सेतो रंगको दौरा–सुरुवाल, कालो टोपी, कालो जुत्ता र महिला भएमा साडी, ब्लाउज, निलो कोट र कालो जुत्ता लगाएर सहभागि हुनु पर्ने छ, भनियो । यसमा बाध्यकारी रुपमा व्यवस्थै गरिनेछ भन्ने कुरा लेखिएको छैन । यदि यही उपदफालाई टेकेर मन्त्रीहरुलाई दौरा–सुरुवाल दिइएको हो भने चाँहि यो भन्दा लाजमर्दो अरु के होला ?
यस्तै, २५ (५)मा, खेलकूदमा सहभागि हुने खेलाडी, निर्णायकलाई जर्सी दिने, भन्ने कुरा उल्लेख छ ।
कार्यविधिमा लेखिएको कुराले प्रष्टै छ, कसलाई आयोजकले के किनिदिने र कसले के ? लगाएर आउने भनेर । यो भन्दा बाहिर गई आयोजकले उच्च पदस्थको चाकडी बजाएका हुन् भने ती कुरा खुल्दै जालान् । तर, एउटा कुराः दौरा–सुरुवाल किस्सामा जसरी गृहमन्त्री बढी नै ‘ट्रोल’बने, यसले उनलाई लाजमर्नु बनाएको छ । उनको सचिवालयका मान्छेहरु यो बारे खुलेर कुरै गर्दैनन् । यतिसम्म कि, न गृहमन्त्रीले दौरा–सुरुवालबारे उनीहरुलाई भने न उनीहरुले गृहन्त्रीसँग यसबारे कुरै गरेका रहेछन् । उनीहरु यो कुरालाई अब नतन्क्याऔँ होला, भन्छन् । यसको अर्थ हुने हुने कुरा भइहाल्यो, ‘फोहरलाई अब धेरै नचलाऔँ’ भन्ने देखियो । मानौँ, भीआईपी मध्येका एक गृहमन्त्रीका तर्फबाट त यो कुरा सकिएला तर, आयोजकबाट भुलचुक भएकै हो भने त्यसको हिसाब–किताब खोज्दै जाँदा टाउको त प्रधानमन्त्रीसम्मै दुख्ने भयो नि ! होइन ?