काठमाडौं । नयाँ संविधान कार्यान्वयनमा आएपछिको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन जस्तै परिणाम आएको छ, अहिलेको उपनिर्वाचनमा । पहिलो नेकपा, दोस्रो कांग्रेस । तेस्रो–चौथो, समाजवादी र राजपा । जनमोर्चा र स्वतन्त्रलाई एक–एक स्थान । बाँकिका ‘रिङ’ आउट । यो परिणामलाई सबैले आ–आफ्नै ढंगले व्याख्या गर्न थालेका छन् । कतिपयले यसलाई मिनी जनमत संग्रहको ट्याग झुण्ड्याउँदै जनताले अब मुलुकमा दुई पार्टी मात्रै रुचाएको रुपमा चित्रित गर्न खोजे ।
यही परिणामलाई लिएर कतिले चुनावमा सहभागि भएका वैकल्पिक राजनीतिक दललाई गफाडीहरुको समूह भनेर जिस्क्याए । कोही यतिसम्म पुगे कि अब पनि स–साना दलमा झुण्डिरहनु भन्दा वैकल्पिक दलवालाले दुई ठूला मध्ये को कता जाने ? निधो गरे हुन्छ ।
हुँदा–हुँदा ति मान्छेहरुले अमेरिकाको उदाहरण दिन समेत भ्याए, ‘अमेरिकामा जस्तो द्विपार्टी सिस्टम हुनुपर्छ, नेपालमा ।’ तर, यो परिणामलाई मसिनो ढंगले हेर्ने हो भने, अग्रपंक्तिमा देखिएको नेकपाले समेत लोकप्रिय मत गुमाएको छ ।
प्रतिनिधिसभा सदस्य जितेको कास्की २ लाई मात्रै उदाहरण मान्ने हो भने सत्तारुढ पार्टीको मत उल्कै बढ्नु पर्ने । कारण सामान्य सहि: पहिले पनि जितेको ठाउँ, त्यसमा पनि निर्वाचित व्यक्तिको दुर्घटनामा देहावसान, दिवंगत प्रतिनिधिसभा सदस्यकै धर्मपत्नी नै उम्मेदवार । त्यति मात्रै नभई अहिले दुई पार्टीको एकीकरण समेत भइसकेको अवस्था । अर्कोतिर प्रतिपक्षको भूमिका पनि प्रभावकारी नभएको परिस्थिति । तर, मत अन्तर कति रहयो ? उही पहिले कै आठ हजार (८४०३) । उता, धरान उपमहानगरपालिकामा नेकपाको ८ हजार मत गुमेकाे छ । यसको अर्थ सत्तामा रहेको नेकपाले लोकप्रिय मत गुमाएको प्रष्ट हुन्छ । र, विपक्षमा रहेको दलको समेत सुधार देखिएन ।
अब रहयो द्विपार्टी सिस्टमको कुरा,
नेपालको हकमा द्विपार्टी सिस्टमको तर्क ठाडै निरपेक्ष ठहर्छ । हामीले यो सन्दर्भमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र वाम वुद्धिजीवि भनेर चिनिएका श्याम श्रेष्ठलाई सोध्यौँ । तर, दुबैले कुनै पनि कोणबाट नेपालमा द्विपार्टी सिस्टमको गुञ्जायस रहेको संकेत गर्दै गरेनन् । दाहालले त नेपालको हकमा यस्ता कुरा उठ्नु नै दुर्भाग्य हो, भने । श्रेष्ठले पनि एउटै चुनावले सबै अवस्थाको इन्डिकेट गर्दैन भन्दिए । श्रेष्ठले यो नतिजाको कुरा गर्दा अघिल्लो चुनावलाई पनि हेर्नु पर्ने कुरा औँल्याए ।
एकबाट दुई दलमा गएपछि त्यसै पनि मल्टिपार्टी सिस्टम (बहुदलीय व्यवस्था) भइहाल्यो, राजनीतिक विश्लेषक दाहालले भने, ‘यहाँ त चार दलले चुनाव जितेका छन् । नेकपा र कांग्रेसलाई मात्रै गनेर हुन्छ ? कपिलवस्तु जस्तो ठाउँमा राजपाको महिला उम्मेदवारले चुनाव जितेकी छन् । यीनै होइनन् ? अहिले चार राष्ट्रिय पार्टी ।’
अमेरिकाको उदाहरण दिइएको सन्दर्भमा उनले त्यहाँ पनि मल्टिपार्टी सिस्टम नै हो भने । उनले अगाडि थपे, ‘अमेरिकामा अरु दलले पनि चुनाव लड्छन् । त्यहाँ रिपब्लिकन र डेमोक्र्याटसँगसँगै ग्रिनपार्टी भन्नेले जहिल्यै चुनाव लडेको सुनिन्छ । हाम्रो भन्दा व्यवस्था फरक छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति । अमेरिकामा दुई अढाई सय वर्षको इतिहासदेखि ठूला दुई शक्तिले वैकल्पिक शक्ति आउने वातावरण नै बन्न दिएनन् । उनीहरु नै बलिया भएर बसे । त्यहाँको र यहाँको परिस्थिति फरक छ । तर, मुख्य कुरा प्रणाली हो । त्यहाँ पनि मल्टिपार्टी अर्थात् बहुदलीय प्रणाली नै हो ।’
बेलायतमा समेत बहुदलीय व्यवस्था नै रहेको दाहालको भनाई छ । बहुदलीय व्यवस्थाको फाइदा नै बेग्लै छ, दाहालले भने, ‘समयमा निर्वाचन हुन्छ । फेयर अर्थात् निष्पक्ष निर्वाचनको अभ्यास हुन्छ । जनमुखि नेतृत्व चयन हुने परिपाटी बस्छ ।’ भन्दा गाली गरेको जस्तो हुन्छ, उनले अगाडि भने, ‘अहिलेकै उपनिर्वाचनमा पनि सत्तामा बस्नेहरुले चुनाव अघिल्तिर र चुनावताका प्रदेशका सचिव फेरे, प्रहरी ताने, मन्त्रिपरिषद (क्याविनेट)जस्तो महत्वपूर्ण संरचनामा हेरफेर गरे । त्यति मात्रै होइन वाग्लुङमा पैसासहित समातिएको कुरा आयो, चामल बाँड्न लाग्दा र भोज खान जाँदै गर्दा समातिएका कुरा पनि आए । यी राम्रा कुरा होइनन् । चुनावलाई निष्पक्ष बनाउँदै लैजानु पर्छ । साथै, यी विस्तारै सुधार हुने कुरा पनि हुन् ।’
उनले अहिले एक दुई दललाई जनताले समर्थन गरेपनि प्रणाली जोगाउनु मुख्य कुरा हो, भने । हत्तै कसैले कसैलाई गाली गर्न मिल्दैन, उनले अगाडि भनेका छन्, ‘वैकल्पिक शक्ति रहनुपर्छ । एउटा भाँडो भरिएपछि खाली रहेको भाँडामा खन्याउन थालिन्छ नि ! हो त्यस्तै हो । भोलि यी ठूला दलबाट बाहिरिए जाने ठाउँ कहाँ त ? यीनै साना राजनीतिक दल ।’
राजपाको उदाहरण दिँदै उनले पहिले मधेस केन्द्रित राजनीति गरेका शक्तिहरु एक भएर क्षेत्रीय नाम हटाई ‘राष्ट्रिय जनता पार्टी’राखेको कुरा औँल्याए । उनले भने, ‘अहिले संघीय समाजवादी र नयाँशक्ति मिलेर समाजवादी पार्टी मात्रै भएको छ । राज्यविप्लव लागेका सीके राउतले पार्टीको नाम ‘जनमत पार्टी’ पार्टी राखे ।’ यसले क्षेत्रीयता भन्दा पनि समग्रतामा उनीहरु गएको देखिन्छ ।
अहिलेको संविधानले समानुपातिक समोवेशी सिद्धान्तलाई मूल मन्त्र मानेको छ । प्रस्तावनामा गरिएको यो संकल्प अनुसार ‘समाजवाद उन्मुख तथा समृद्ध एवं समुन्नत राष्ट्रय निर्माण गर्ने भनिएको छ । संविधानको स्प्रिडलाई नै लिने हो भने पनि द्विपार्टी सिस्टमको कुरा गर्नु उपयुक्त नहुने दाहालको भनाई छ ।
वाम बुद्धिजीवि श्रेष्ठले अहिले नेपालीहरु पोल्टिसाइज भएका छन् भने । भरखरैको चुनावी परिणाममा भने नौलो केही नभएको उनको भनाई छ । उनले भने, ‘विकल्प नदेखेरै जनताले दुई दललाई मत दिएको देखियो । तर, सत्ताधारी नेकपा पनि कमजोर देखिन्छ । दुई पार्टी मिलेको पनि जम्मा सार मात्रै देखियो । मत अन्तरमा कुनै परिवर्तन आएको देखिएन ।’ विपक्षीको भूमिका पनि परीक्षण भयो । श्रेष्ठका अनुसार विपक्षीले राम्रो भूमिका खेल्न सकेको देखिएन ।
हाम्रो सहभागिता नै ठूलो कुरा : डा. आचार्य
वैकल्पिक शक्ति त चाउरी परेको टिप्पणी हुन थाल्यो नि ! भन्ने जिज्ञासा लिएर हामी साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यकहाँ पुग्यौँ । उनलाई बाहिर चलेका कुराहरु जस्ताको त्यस्तै सुनायौँ । अनि, उनको प्रतिक्रिया आयो, ‘अपेक्षा अनुसारको नतिजा नआउनुको पछाडि हाम्रो थुप्रै कमि कमजोरीहरु छन् । तर, चिन्ता राजनीतिक अभ्यासको हो । अहिले पनि के ? देखियो भने राज्य दोहन गरेर राजनीतिक मेसिन चलाउनेहरुकै निरन्तरता । हामीले यी पार्टीको विकल्प हौँ भनेर हिजो पनि भनेनौँ, आज पनि भन्दैनौँ । तर, उहाँहरुबाट मुलुक बन्दैन भन्नेमा प्रष्ट छौँ । हामीले जनतालाई बुझाउन खोजेको पनि त्यही हो ।’
आचार्यले अहिलेको चुनावी सहभागितालाई आफुहरुले जनताको घर दैलोमा पुग्ने अवसरको रुपमा लिएको बताउँदै एउटा उत्साह पाएको सुनाए । उनले भने, ‘जनतामा राजनीतिक परिपाटी फेरिनुपर्छ भन्ने चाँहि परेको छ । त्यही हो हामीले बटुलेको उत्साह ।’
हामी वैकल्पिक पार्टी हौँ भनेर भन्दैनौ, उनले भने, ‘राजनीतिक परिपाटी फेरिनु पर्छ भनेर भन्यौँ, भनिरहेका छौँ । अहिलेको चुनावी परिणामलाई लिएर वैकल्पिक शक्तिको आवश्यकता छैन भन्ने खालका टिप्पणी गर्नु वस्तुगत हुँदैन । यसलाई मानक बनाउन मिल्दैन ।’
तर, उनले यो उपनिर्वाचनलाई मिनी जनमत संग्रह भनेर आफुहरुले नै भनेको पनि बताए । उनले भने, ‘मिनी जनमतसंग्रहको रुपमा लिनुस् भनेर हामीले नै भनेका हौँ । हामीले सत्तामा उक्लिने कुरा गरेकै छैनौँ । अहिले सरकारमा रहेका दलले नेतृत्व गरिरहेका माथिदेखि तल्लो तह सबैतिर परिपाटी नै छैन । भन्नलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनिएको छ । तर, प्रणाली स्थापित गर्ने हकमा विधि अनुरुप गएको भेटिएन । त्यही कारण हामीले यसलाई एउटा मिनी जनमत संग्रहको रुपमा लिइदिनुस् भनेर जनतालाई आग्रह गरेका हौँ ।’
अमेरिकाको उदाहरणका सन्दर्भमा उनले यस्तो टिप्पणी गरे –‘अमेरिकाको राजनीति खुलुलो छ, हाम्रो जस्तो छैन । त्यहाँ रिपब्लिकन वा डेमोक्र्याटिक पार्टीको सभापति को हो भन्ने नै थाहा हुँदैन । त्यति मात्रै होइन त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति छ, तर आधैजति मान्छेले राष्ट्रपतिलाई समेत चिन्दैनन् । त्यसैले अमेरिकाको सन्दर्भ हाम्रोमा जोड्न मिल्दैन । परिपाटीको कुरा गर्ने हो भने हाम्रो संघीयताले पूर्ण आकार नै लिन सकेको छैन, के कुरा गर्नु ।’ यद्यपि, उनले आफुहरुले विकल्प दिन नसकेका कारण सहभागितामै सिमित हुनुपरेको कुरा भने उनले स्वीकारेका छन् ।