काठमाडौं । स्थानीय तहमा भरखरै उपनिर्वाचन भएका अधिकांश पद जनप्रतिनिधिको निधनकै कारण खाली भएको देखिएका छन् । स्थानीय पालिकाको पनि धेरै जसो वडा अध्यक्षको पद खाली भए । केही वडा अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख भए पनि अधिकांशको निधन भएको छ । यसमा पनि अधिकांशको निधन दुर्घटनामा परेर भएको छ ।
केही जनप्रतिनिधि उम्मेदवारी दिनु पहिल्यैदेखि विरामी रहेका कारण निधन भएको र केही अकस्मातको विमारले मृत्युवरण गर्न पुगेका छन् । एकाध जनप्रतिनिधि वडाअध्यक्षको पदमा पुगेर पनि सम्हालिन सकेनन्, आत्महत्या गरे ।
संविधानको धारा २१५ मा गाउँकार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धि व्यवस्था छ । यसैको उपधारा ८ मा पद मुक्त हुने प्रावधान छ ।
उपधारा (८) देहायको कुनै अवस्थामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पद रिक्त हुनेछः–
(क) अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्षसमक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको पदावधि समाप्त भएमा,
(ग) निजको मृत्यु भएमा ।
अधिकांशको हकमा उपधारा ८ को (ग)पद रिक्तको कारण बनेको छ ।
हुम्ला, खार्पुनाथ गाउँपालिका–उपाध्यक्ष
खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाला (शाही)को जीप दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्नु परेको हो । गएको असार ३ गते १० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबीसौनाबाट कर्णाली नदीमा खसेको थियो । जीपसहित नदिमा खसेका व्यक्तिहरुको लामो समय खोजि गरियो । पछि गाउँपालिकाले सबैलाई मृत घोषित गर्नु परेको थियो । गाउँपालिका उपाध्यक्ष हमालको झोला भेटिएकै आधारबाट निधन भएको घोषणा गरियो ।
बैतडी, पुर्चौडी नगरपालिका– वडा नम्बर ४
पुर्चौडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गौतम प्रसाद भट्टको गएको असारमा मोटरराईकल दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । गौतमले २ वर्ष काम गर्न पाए । अहिले यो वडामा नेकपाका शैलेन्द्र धानुक निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार गोविन्द बहादुर धामी थोरै मतले पराजित भए ।
बैतडी, सुनर्या गाउँपालिका– वडा नम्बर १
बैतडीको सुनर्या नगरपालिका १ मा पनि वडा अध्यक्षको निधन भएपछि उपनिवार्चन भएको हो । अहिले पनि कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका छन् । यो वडामा यसअघि पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए ।
बैतडी, दोगडाकेदार गाउँपालिका– वडा नम्बर ४
दोगडाकेदार गाउँपालिका –४ मा वडाअध्यक्ष रहेका मान बहादुर विष्टको निधन भएपछि उपनिर्वाचन भएको हो । विष्ट विरामी थिए । उनले जनप्रतिनिधिका रुपमा ९ महिना जति काम गर्न पाए । अहिले यो वडामा कांग्रेस उम्मेदवार सुरेन्द्र प्रसाद भट्ट निर्वाति भएका छन् भने नेकपाका नरेन्द्र प्रसाद भट्ट हार्न पुगेका छन् ।
डोटी, आदर्श गाउँपालिका–वडा नम्बर २
आदर्श गाउँपालिका–वडा नम्बर –२ का वडा अध्यक्ष प्रेम बहादुर बोहरा को जीप दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन गर्नु परेको हो । अहिले नेकपाबाट विजयी हुने राम बहादुर बोहरा दिवंगत प्रेमका दाइ पर्छन् । उनले कांग्रेस उम्मेदवार महादेव साउदलाई झिनो अन्तरले हराए ।
अछाम, मेल्लेख गाउँपालिका– वडा नम्बर ५
मेल्लेख गाउँपालिका– वडा नम्बर ५ मा उपनिर्वाचन गर्नु पर्ने कारण पनि वडा अध्यक्षको निधन नै हो । राम बहादुर बोहराको निधन बाजुराको बढीमालिका तीर्थ जाँदा २०७५ असारमै भयो । लेक लागेर मृत्यु भएका उनले सपथ मात्रै खान पाए । पहिलो कार्यपालिका बैठकमा समेत सहभागि हुन पाएनन् । अहिले यो वडामा सत्ताधारी नेकपाका उम्मेदवार रमेश बहादुर खड्का विजयी भएका छन् । कांग्रेस उम्मेदवार विर बहादुर बोहरा पराजित भए ।
बाजुरा, त्रिवेणी गाउँपालिका– वडा नम्बर १
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका खम्म नेपालीको गएको वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएपछि यो वडामा उपनिर्वाचन गर्नु परेको हो । अहिले सत्तारुढ नेकपाका उम्मेदवार मनराज बुढी विजयी भएका छन्, २१ मतको फरकले । त्यतिबेला नेपालीले नेकपाका उम्मेदवारलाई ३५ मतले हराएका थिए ।
कञ्चनपुर, पुर्नवास नगरपालिका– वडा नम्बर ३
पुर्नवास नगरपालिका –वडा नम्बर ३ मा वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि उपनिर्वाचन भएको हो । अहिले यो वडामा नेकपाका कृष्ण बहादुर तामाङ वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार दीप तामाङलाई पछार्दै वडाअध्यक्ष जितेका हुन् ।
सल्यान, कुमाख गाउँपालिका– वडा नम्बर ५
कुमाख गाउँपालिका– वडा नम्बर ५ का वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएर गएपछि उपनिर्वाचन भएको हो । उनी तत्कालीन माओवादी केन्द्रबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । अहिले पनि यो वडामा नेकपाकै उम्मेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार खड्ग बहादुर बोहरा भने ठूलै मत अन्तरले हार्न पुगेका छन् ।
बाँके, कोहलपुर नगरपालिका– वडा नम्बर ६
कोहलपुर नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेसबाट निर्वाचित उनको विमारीका कारण निधन भएको हो । उनको २०७५ मंसिर ९ गते असामाहिक निधन भयो । अहिले यो वडामा नेकपाका राम शरण थारुले जितेका छन् । कांग्रेसका श्रीकृष्ण थारु पराजित भएका छन् ।
रोल्पा, थवाङ गाउँपालिका– वडा नम्बर १
रोल्पा थवाङको १ नम्बर वडा सर्वाधिक चासोमा थियो । पहिले स्वतन्त्रबाट जितेका फर्कबहादुर बुढाको मष्तिष्क घातका कारण निधन भएपछि १ नम्बर वडामा उपनिर्वाचन गर्नु परेको हो । फर्क बहादुरलाई कतिपयले विप्लवका उम्मेदवार पनि भनेका थिए । तर, उनले उम्मेदवारी स्वतन्त्र रुपमा हालेका थिए । अहिले सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढामगरले जितेका छन् ।
दाङ, घोराही उपमहानगरपालिक – वडा नम्बर १६
घोराही उपमहानगरपालिका वडा नम्बर –१६ मा अघिल्लो निर्वाचन तत्कालीन एमालेबाट लछिनप्रसाद बुढाले जितेका थिए । उनको जण्डिसका कारण निधन भयो । जनप्रतिनिधि भएर उनले जम्मा १ वर्ष काम गर्न पाए । उपनिर्वाचनमा अहिले कांग्रेस उम्मेदवार ताराबहादुर डिसी विजयी भए ।
प्यूठान, प्यूठान नगरपालिका– वडा नम्बर २
प्यूठान नगरपालिका वडा २ मा पनि वडाअध्यक्षको निधनकै कारण उपनिर्वाचन गर्नु परेको हो । तत्कालीन एमालेबाट निर्वाचित खिम बहादुर विष्टको निधन भएका कारण उपनिर्वान भएको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । अहिले यो वडामा नेकपाका उम्मेदवार मुक्ति पोखरेल विजयी भएका छन् । कांग्रेस उम्मेदवार मोहन सिंह विष्ट क्षेत्र पराजित भए ।
प्यूठान, ऐरावती गाउँपालिका –वडा नम्बर १ र २
ऐरावती गाउँपालिका १ र २ वडामा उपनिर्वाचन गर्नु परेको कारण भने फरक छ । यी दुई वडाका वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख उप–प्रमुख छन् । १ नम्बर वडाबाट निर्वाचित पदम थापा उपप्रमुख छन् भने, २ नम्बरबाट निर्वाचित केशवराज आचार्य जिल्ला समन्वय समितिको प्रमुख छन् । थापा तत्कालीन माओवादी र आचार्य राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाग्लुङ, वडिगाड गाउँपालिका– वडा नम्बर २
वडिगाड गाउँपालिका–वडा नम्बर २ वडा अध्यक्ष विष्णुप्रसाद भूषाल जिल्ला समन्वय समिति उपप्रमुख भएपछि उपनिर्वाचन गर्नु परेको हो । भूषाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । अहिले नेकपाका उम्मेदवार ढाल प्रसाद सेरचन विजयी भएका छन् ।
गुल्मी, रुरु गाउँपालिका–वडा नम्बर ६
रुरुको वडा ६ मा तत्कालीन एमालेबाट निर्वाचित पूर्वबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन भएको हो । क्यान्सरको विरामी उनको ०७५ साउनमा निधन भयो । अहिले कांग्रेस उम्मेदवार बेदप्रसाद दर्लामीलाई हराउँदै नेकपाका उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् ।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका– वडा नम्बर ८
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका– वडा नम्बर ८ मा अघिल्लो निर्वाचनमा वडाअध्यक्ष जितेका धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन भएको हो । उनले २०७४ मंसिर ४ गते आत्महत्या गरे । आत्महत्या गर्नुको कारण भने गाउँपालिका अध्यक्ष बंशलाल तामाङले खुलाएनन् । अहिले यो वडामा नेकपाका केदारनाथ आचार्य विजयी भए । कांग्रेसका अशोक तामाङ हारेका छन् ।
सिराहा, कल्याणपुर नगरपालिका –वडा नम्बर १२
कल्याणपुर नगरपालिका–१२ मा काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन भएको हो । उनको पेटमा क्यान्सर थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी राजपाका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गरे भने काँग्रेस उम्मेदवार राजकुमार मुखियाले ६१५ मत ल्याए ।