चितवन । भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा जटिल प्रकारको पोस्टमार्टममा समस्या हुने गरेको छ ।
मेडिकल अफिसरको भरमा पोस्टमार्टम हुँदै आएको अस्पतालमा फरेन्सिक डाक्टर वीरेन्द्र मण्डल एक बर्ष अघि नै मेडिकल सुपरिटेन्डेन्टको रुपमा सर्लाही अस्पतालमा सरूवा भएर गएपछि अस्पतालमा अर्को फरेन्सिक डाक्टरको नियुक्ति हुन सकेको छैन ।
दैनिक औसतमा ५ वटासम्म पोस्टमार्टम हुने गरेको अस्पतालमा फरेन्सिक विशेषज्ञ डाक्टर नहुँदा निजी मेडिकल कलेजबाट प्रो. डा. तेजप्रसाद चटौतले तीन महिनाअघि सम्म भरतपुर अस्पतालमा गई दैनिकजसो शव पोस्टमार्टम गर्ने गरेको भएपनि अस्पताल प्रशासनले पोस्टमार्टम गरेबापतको सेवा सुविधा नदिएपछि विगत ३ महिनादेखि उनी सो, अस्पतालमा पोस्टमार्टमका लागी गएका छैनन् ।
६ सय शैर्या रहेको अस्पतालमा फरेन्सिक डाक्टरको दरबन्दी हुँदा पनि पोस्टमार्टम परीक्षणका लागि विशेषज्ञ डाक्टर नहुँदा आफूहरुलाइ समस्या हुने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आवश्यक पर्दा तालिम प्राप्त, आकस्मिक कक्षमा काम गर्ने र विशेषज्ञ डाक्टरहरुको सहयोगमा पोस्टमार्टम भइरहेको र फरेन्सिक डाक्टर नभएको बिषयमा आफुले केन्द्रमा पत्राचार गरिएको बताए ।
यता, भरतपुर अस्पतालका मेसु डा। श्रीराम तिवारीले फरेन्सिक डाक्टर सरुवा भएर गएपछि तालिम प्राप्त डाक्टरहरुको सहयोगमा पोस्टमार्टम गर्ने काम निरन्तर भइरहेको र, फरेन्सिक डाक्टर उपलब्ध गराउन केन्द्रसम्म पत्राचार गरिएको बताए ।
दुर्घटना, भवितव्य, कर्तव्यजस्ता घटनाको पोस्टमार्टम चितवन जिल्ला र आसपासको भरतपुर अस्पतालमा हुने गरेको छ । आपराधिक घटनासँग सम्बन्धित पोस्ट मार्टम भरतपुर अस्पतालमा हुन सकेको छैन । मेडिकल अफिसरले सामान्य प्रकृतिका मात्रै पोस्टमार्टम गर्ने गरेका छन् । कुटपिट बाट मृत्यु, हत्या, शंकास्पद मृत्युजस्ता घटनाका शवहरु अहिले पोस्टमार्टमका लागि काठमाडौँ टिचिङ अस्पताल लैजाने गरिएको छ ।
भरतपुर अस्पतालमै सम्भव यस प्रकृतिको सेवा लिन काठमाडौँ जानुपर्ने बाध्यताले गर्दा स्थानीय लाई सास्ती हुने गरेको छ । मेडिकल कलेजहरुमा फरेन्सिक मेडिसिन अध्ययन हुने हुुँदा यहाँ विशेषज्ञ फरेन्सिक डाक्टरहरु रहने गरेका छन् ।
१२ वटा शव राख्ने क्षमता भएको शवगृह रहे पनि बेवारिसे शव धेरै हुँदा कहिलेकाहीँ शवहरु खप्टाएर राख्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।