चितवन । भौगोलिक अवस्थाका कारण सुरक्षा निकायको सहज रूपमा पहुँच पुग्न नसकेको राप्ती नगरपालिकाको वडा नं १२ र १३ मा चितवन प्रहरीले पाँच दिन लगाएर गाँजाखेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र त्यसका मातहतका प्रहरी ईकाईहरुले कार्तिक २० गतेदेखि २४ गतेसम्म राप्ती नगरपालिकाको वडा नं १२ र १३ का विभिन्न स्थानहरुमा अवैध रुपमा ७९ विगाहा जग्गामा लगाईएको गाँजा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरीको टोलीले पहिलो दिन कार्तिक २१ गते राप्ती नगरपालिका १२ को ठकुरी भज्याङमा ८ विगाहा, कार्तिक २२ गते राप्ती नगरपालिका १३ को कालिटार, कालिखोला मा २५ विगाहा, कार्तिक २३ गते राप्ती नगरपालिका १३ को कालिखोला, धानगिरीमा १६ विगाहा, कार्तिक २४ गते राप्ती नगरपालिका १३ को च्युंदी, तापन, कालीखोला, धावनगिरीमा ३० विगाहा गरी कुल ७९ विगाहा जग्गामा लगाईएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
झन्डै २ महिना अघि पनि करिब २० विगाहा भन्दा वढि गाँजाखेती नष्ट गरिसकेको चितवन प्रहरी गाँजाखेती गर्नेहरूप्रति निक्कै आक्रमक रूपमा प्रस्तुत हुँदै आएको छ ।