चितवन । व्यावसायिक रुपमा स्पीड मोटरवोट चल्न थालेसंगै चितवनको नारायणी नदी किनारमा चहलपहल वढ्न थालेको छ । चितवन महोत्सवका बेला २०५७ सालमा पहिलो पटक नारायणीमा २ वटा मोटरबोट सञ्चालनमा आएका थिए । त्यसपछि हरेक महोत्सवका बेला मोटरवोट, र्याफ्टिङ गतिविधि हुँदै आएको भएपनि महोत्सवका बेला बाहेक अन्य समयमा मोटरवोट सञ्चालनमा आएको थिएन ।
चितवन माडीका शंकर पौडेलले स्पीड मोटर बोट चढ्दा आफूलाइ “समुन्द्रमै पुगे जस्तो अनुभव भएको बताए । सूर्योदय, सूर्यास्तको दृश्यावलोकन गर्न, नदी किनारको शान्त वातावरणमा रमाउन आउने बढेका छन् । मानसिक तनाव कम गर्न मोटरबोट उपयोगी हुने तर्क उनीहरुको छ ।
संयुक्त ५ टोल विकास संस्थाका अध्यक्ष दीपक शाही ठकुरीले नारायणीमा हाल ११ मोटरवोट सञ्चालनमा आएको बताए । ‘नदी किनार पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको उनको भनाइ छ ।’
अहिले आयुष्मा मोटरबोट कम्पनीका २, रंगमहल रिभरल्याण्ड प्रालिका ५, एमटीएस मोटरबोट प्रालिका ४ मोटरबोट सञ्चालनमा छन् । आयुष्माले २ सय ५०, रंगमहलले ३ सय, एमटीएसले १ सय ५० रुपैयाँमा सेवा दिँदै आएको छ ।
पोखरा बसर्पाक नारायणी पुल नगरवन सम्मको करीव ५ किलोमीटरमा ‘सामान्य जलयात्रा’ को सेवा लिनेको घुइँचो बढेको छ । ७ देखि १० मिनेट नारायणीको चिसो हावाको अनुभव लिदै जलयात्रा गर्न पाउने छन् । एकैसाथ १ सय बढीले जलयात्रा गर्ने वातावरण बनेको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले एक महिनाभित्र २ सयजना एकैसाथ जलयात्रा गर्न मिल्ने गरी क्रुज सिप सञ्चालनको तयारी गरिरहेको छ । साँढे दुई तले क्रुज सिपको रंगरोगन र सजावटको काम भइरहेको छ । नारायणीमा दैनिक सरदर ७ सय जनाले मोटरबाट चढ्ने गरेका छन् । मोटरबोटको टिकटबाट २५ रुपैयाँ टोल विकास संस्थाले आर्थिक संकलन गरेको छ ।
आयुष्माले मुग्लिङ कालिखोला–सानोगढीसम्मको ४६ किलोमीटरसम्म स्मल क्रुज चलाउने तयारी गरेको छ । स्मल क्रुज सिपमा २४ जना यात्रा गर्न मिल्छ ।
कालिखोला–पुल्चोकसम्म १४ सिटर मोटरवोटका लागी ‘वन डे नाइट प्याकेज’ का लागी ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । खाना, बस्न र जलयात्रा एकै साथ सो प्याकेजमा हुनेछ । डे प्याकेजका लागी १ हजार ५ सय रुपैयाँ पर्छ ।
रंगमहलका राम भट्टराईले मिनीसिपका रुपमा देशकै ठुलो वोट नारायणीमा सञ्चालनमा आएको जनतापाटी अनलाइन लाइ बताए । सो मिनीसिपमा २० जना अट्छन् । सुविधा सम्पन्न गाडी सरहको सिट छन् ।