काठमाडौं । प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ ।
चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।