चितवन । चितवन मेडिकल कलेजमा आइतबार भएको तोडफोडको विषयलार्इ लिएर नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगी ६ बुँदे माग सहित ज्ञापनपत्र बुझाएसंगै २४ घण्टे अल्टिमेटम समेत दिएको छ ।
चिकित्सक संघले २४ घण्टा भित्र आफ्ना माग पुरा नभए चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरु आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको हो । संघका अध्यक्ष डा.प्रकाश खतिवडाले अशान्ति र असुरक्षाको बीचमा उपचारको काम गर्न नसक्ने भन्दै तत्काल माग पुरा गर्न प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेत समक्ष माग गरे ।
चिकित्सक संघले सीएमसीमा तोडफोड भएको घटनालाई लिएर स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन ०६८ तथा नियमावली २०६९ अनुसार घटनाको दोषीहरुलाई तुरुन्त कारवाही हुनुपर्ने, चितवन मेडिकल कलेजमा चिकित्सक, विद्यार्थीहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई सीसीटिभी फुटेज र भिडियो रेकर्ड समेत हेरी ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत कानुनी कारवाहीलाई अगाडि बढाउनुपर्ने, सीएमसीमा भएको क्षतिपुर्ती सम्बन्धीत व्यक्ति र समूहहरुबाट असुल गराउनुपर्ने, जेल विथआउट बेल अविलम्ब लागू गर्नुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षाको प्रत्याभुती गराउन जिल्लाका सुरक्षा निकायहरुले सुरक्षा संयन्त्र बनाउनुपर्ने, सामाजिक सञ्जालमा अतिरञ्जित दुष्प्रचार गर्नेहरुलाई साईबर क्राइम अन्तर्गत कारवाही गर्न माग गरेको छ ।
चिकित्सक संघका केन्द्रीय सदस्य अनिल विक्रम कार्कीले आफुहरुको माग छिटो सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिए । संघका पूर्व अधयक्ष डा.कृष्ण पौडेलले अस्पतालहरुमा हुने यस्ता घटना दुःखद भएको भन्दै निष्पक्ष छानविन गर्ने प्रक्रिया राज्य निकायबाट हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले अस्पतालमा घटना दुःखद भएको भन्दै सुरुमा नै घटनाका विषयमा अस्पतालले जानकारी नगराउँदा समस्या निम्तिएको बताए । ‘मेडिकल सिटिका रुपमा चितवन विकसीत भएको भन्दै प्रजिअले चितवनमा यतिवेला अस्पतालको सुरक्षा मूख्य चुनौती बनेको जिकिर गर्दै उनले अस्पतालमा हुने यस्ता घटनाका विषयमा प्रशासन गम्भीर बनेको भन्दै पिडकलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो क्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले घटनामा संलग्न एक दर्जन भन्दा बढीलाई नियन्त्रमा लिईसकेको भन्दै कारवाही प्रक्रियामा कुनै शंका नगर्न आग्रह गरेका थिए । अस्पताललाई जाहेरी दिन आग्रह गर्दै सोही अनुसार कारवाही प्रक्रिया अघि बढाईने उनले बताए ।