चितवन । चाडपर्वको समयमा चितवन जिल्लामा १६ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ भने केही सामान्य घाइते भएका छन् ।
दशैंको पहिलो दिन अर्थात असोज १२ गते घटस्थापनादेखि असोज २२ गते एकादशी सम्म जिल्लामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु बाहेक अन्य कुनै प्रकारको अप्रिय घटना घट्न नपाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख चन्द्र कुमार गिरीले जानकारी दिएका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको राजमार्ग र नगर सुरक्षा योजना अनुसार २४ सै घण्टा पैदल गस्ती, मोवाईल गस्ती र साइकल गस्ती परिचालन गर्नुका साथै र प्रहरी आफैंले पनि नागरिक सहजताको लागी एक दिने निशुल्क बस सेवा समेत सञ्चालन गरेकोले पनि जिल्लामा ठुला अप्रिय घटना हुन नपाएको प्रहरी प्रमुख दानबहादुर मल्लले बताए ।
चाडपर्वको बेला राजमार्गहरुमा हुनसक्ने लुटपाटका घटनालाई नियन्त्रणमा लिन रात्रीकालीन गस्तीलाई विशेष प्राथमिकतामा राख्नुको साथै जिल्लामा पर्ने पुर्वपश्चिम राजमार्गको सिमाना लोथरदेखी मुग्लिङसम्म हतियारसहितका सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरेकोले पनि जिल्लाको सुरक्षा सुदृढ भएको प्रहरी प्रमुख मल्लको दाबी छ ।
प्रत्येक दिन सरप्राइज चेकिङ्ग र चाडपर्वलाइ लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्दै यात्रुलाइ सहजता प्रदान गरेकोले पनि सवारी चापलाई नियन्त्रण गर्न र अघिल्लो चाडपर्व भन्दा यसपटकको चाडपर्वमा सवारी दुर्घटना लाई नियन्त्रणमा लिन आफूहरु सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख चन्द्र कुमार गिरीले बताए ।