चितवन । चितवनका राजमार्ग छेउछाउका होटलहरुमा चरम लापरर्वाही हुने गरेको पाइएको छ । खाद्य सामग्रीको प्रयोगका विषयमा भरतपुर महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
भरतपुर महानगरपालिकाको वडा नंं २९ मा रहेको मुग्लिन नारायणगढ सडक खण्डको जुगेडी रामनगर क्षेत्रका होटलहरुमा अखाद्य सामग्री बिक्री गर्ने गरेको, सडेगलेका सामग्री बिक्री बितरणका लागि राखेको, कुहिएका मासु पकाउन राखेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले, ‘पकाउनका लागि राखेको तरकारी कुहिएको, बासी खाना दिन तयार पारेको, कुहिएको मासु पकाउन राखेको, अखाद्य सामग्री प्रयोग गरिएको भेटिएको छ’, भने ।
मानव स्वास्थ्यको लागि अनुपयुक्त सामग्री बिक्री गर्न राखेको देखेपछि नष्ट गरिएको र होटलको भान्छा फोहोर भएको, सफा गर्न नसकेको, शौचालय र भान्छाको दुरी नजिकै रहेको, फोहर दुर्गन्धले प्रत्यक्ष असर पर्ने देखिएको बताए । होटलमा तयारी सामग्री बिक्रीका लागि राखेकोमा पनि मिती गुज्रेको पाइएको उनले बताए ।
जुगेडीको एलिना, बुटवल होटल, सागर होटल, नमस्ते नेपाल, खोटाङ एन्ड सगरमाथा लगायतका होटलहरुमा फोहोर व्यवस्थापन र खाद्य स्वाच्छतामा खेलवाड गरेको पाइएको हो ।
दर्जन होटललाई खाद्य सुरक्षालाई ध्यान दिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । जुगेडी रामनगर क्षेत्रमा दुइ दर्जन भन्दा धेरै होटलहरु रहेका छन् । यहाँ दिउसो र रातीको समयमा तीनसय भन्दा धेरै सवारी साधनका यात्रुहरुले खाना खाने गर्छन् ।
जुगेडीको होटलहरु घरेलु तथा साना उद्योग कार्यालयमा समेत दर्ता नभएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय भरतपुरमा अधिकृत सुर्दशन शर्माले जानकारी दिए ।
मासु पसललाई जरीवाना
यसैबीच, अनुगमन टोलीले नारायणगढका ४ वटा मासु पसलहरुलाई समेत कारवाही गरेको छ । बधस्थल, विक्रीकक्ष र पसल अगाडिको क्षेत्रमा फोहोर गर्ने मासु पसलेलाई पहिलो चरणमा ५ हजार जरिवना गरिएको हो ।
नारायणगढ लायन्सचोकको मिलीजुली बंगुर मासु पसल, आरके बंगुर मासु पसल, न्यु ईन्द्रणी मासु पसल र लक्ष्मी मिट हाउसलाई कारवाही गरेको हो ।
उनीहरुको पसलमा फोहोर व्यवस्थापनमा ध्यान नदिएको मासु खुल्लारुपमै बिक्री वितरण गर्ने गरेको देखिए पछि कारवाही गरेको बताइएको छ । चाडपर्वमा अनुगमन गरे पनि दोषीलाई सामान्य निर्देशन दिने र कार्बाहीको दायरामा नल्याएको भन्दै उपभोक्ताले असन्तुष्टी व्यक्त गरेका छन् ।