नेपालमा विभिन्न समयमा भएको विभिन्न अपराधिक घटनाको अनुसन्धानमा प्रभाव पार्दा अनुसन्धान नै फितलो हुने गरेको पाइएको छ । २०७५ जेठ ११ गते ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई अनुसन्धानको क्रममा सोधिएको प्रश्नहरुमा उनले अनौपचारिक रुपमा जवाफ दिएका थिए । उनले अनौपचारिक जवाफ दिँदा अझै ३८ क्वीन्टल सुन तस्करीको दोषी पत्ता लाग्न सकेको छैन । यसमा गोरेको पक्षमा र विपक्षमा विभाजित भएर गरिएका प्रचार प्रसारहरुले नै अनुसन्धानलाई प्रभावित पारेको स्पष्ट हनु आउँछन् । तस्करीको बारेमा ठूलो जालो बताउँदै आएका उनले ठूलो जालोभित्र को–को छन् भन्ने कुरा खुलाएनन् । उनले यो कुरा नखुलाउँदा नेपालबाट हुने सुन तस्करीलाई रोक्नभन्दा पनि बढवा दिने काममा सहयोग पुग्दै आएको अनुसन्धानमा खटिएकाहरुले बताउँदै आएका छन् ।
यसैगरी गत साउन ७ गते एक वर्षअघि कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पनि विभिन्न प्रचार प्रसारका कारण अनुसन्धन प्रभावित भएको गृहमन्त्री रामबहादुर थापाले स्पष्ट पारेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहँदा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरुमा अनुमानको भरमा आएको समाचारहरुले अनुसन्धान नै प्रभावित बनेको थियो । अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिलाई त्यसै नै छाड्नुपरेको थियो । निर्मला पन्तको घटनामा राजनीतिकरणको प्रयास बढी हुँदा अनुसन्धान प्रभावित भएको थियो । यस्ता घटनालाई प्राभावित पार्ने काम यही समाज र राजनीतिक दलहरुले गर्ने गरेको पाइएको छ ।
यसैगरी गत बैशाख २५ बालुवाटार जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई उम्काउने अभिप्रायले प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति प्रति ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल)ले आपत्ती जनाउँदै अनुसन्धानलाई प्रभावित नपार्न आग्रह गरेको थियो । बालुवाटार जग्गा प्रकरणमा पनि भैरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम भएको छ । जसका कारण अहिलेसम्म पनि कुनै छानविन हुने सकेको छैन र दोषीलाई कारवाही पनि हुन सकेको छैन । पछिल्लो घटनालाई हेर्ने हो भने पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापूर्व रेकर्ड भएको भिडियोको आधारमा भैरहेको अनुसन्धानलाई प्रभावित पर्ने गरी आन्दोलन र प्रदर्शनहरु भैरहेका छन् । यस्ता प्रदर्शनले अनुसन्धानलाई प्रभावित पर्ने हुँदा अनुसन्धानलाई निष्पक्ष बनाउन सहयोग गर्नु आवश्यक छ ।
पीडितलाई न्याय दिने कुरामा लाग्नपर्नेमा त्यसतर्फ कसैले ध्यान नदिएर आ–आफ्नो पक्षको वकालत हुने गरी प्रचार प्रसार गर्दा पीडितले न्याय पाउन कठिन पर्दछ । अनुसन्धान नै फितलो भएमा दोषिले कारवाही पाउने र पीडितले न्याय पाउने कुनै आधार नै हुन सक्दैन । आरोप लाग्दैमा दोषी नै भएको प्रमाणित पनि गर्न मिल्दैन । कुनै व्यक्तिलाई अनुसन्धानका क्रममा पक्राउ गरी अनुसन्धानलाई बलियो बनाउने काममा सबैले साथ दिनु आवश्यक छ ।