भैरहवा । पाँचौ स्थापना दिवसको अवसर पारेर हिन्दू जागरण नेपाल जिल्ला शाखा रुपन्देहीले भैरहवामा दिप प्रज्जवलन कार्यत्रम सम्पन्न गरेको छ । संस्थाले भैरहवा स्थित बुद्धचोकमा मंगलबार दिप प्रज्जवलन गरेको हो ।

कार्यक्रममा समाजसेवी माया पन्थी, हिन्दू जागरण नेपालका संगठन विभाग प्रमुख हरिशरण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष उमा ढकाल, नगर अध्यक्ष माधवी शर्मा, संस्कृत विद्याश्रम भैरहवाका अध्यक्ष डि.आर. शर्मा लगायतले बोल्दै हिन्दू धर्मको संरक्षण अहिलेको आवश्यकता रहेकोमा जोड दिए । उनीहरुले विभिन्न प्रलोभनमा पारी गरिने धर्म परिवर्तन तथा जातीय छुवाछुत र कुरीति विरुद्ध संस्थाले अभियान चलाउँदै आएको बताए ।

हिन्दू जागरण नेपाल जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष रामसुमेर यादवको स्वागत मन्तव्य तथा केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७१ सालमा स्थापना भएको हिन्दू जागरण नेपालले हिन्दू धर्म संरक्षणको लागि विभिन्न कार्यक्रम गर्र्दै आएको जिल्ला सचिव पुष्कर ज्ञवालीले बताए ।
