संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा विवाह नगरे पनि महिलाले बच्चा जन्माउन पाउने व्यवस्था गरिएको छ ।
महिलाले पाउने भए पछि ‘डाडे’ पुरुषहरुले कोकोहोलो गरिहाले –‘अनि पुरुषले चाहिं पाउने कि नपाउने ?’
महिला अधिकारबादीहरुले एक स्वरले जवाफ दिए– ‘सक्छौ भने जन्माओ ।’
दम्भी पुरुषहरुले महिलाअधिकारबादीहरुलाई जवाफ दिनका लागि अब भटाभटा पाठेघर प्रत्यारोपण गर्छन, महिलालाई उन्छिन्ने गरी बच्चा जन्माउँछन ।
आखिर पुरुष महिलाको हाराहारी हुन नसकेको यही एउटा काममा थियो, अब महिलासंग ‘समान’ हुनको लागि पुरुषले बिधेयकले बाटो खुलाई दिएको छ ।
संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै अधिकार’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो ।
पश्चिमका धेरै देशमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ ।
विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त नेपालमा पनि बनिसकेको छ । अब भने पश्चिममा देशमा झैँ नेपालमा पनि बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ ।
नेपालसहित १८६ राष्ट्रले सन् १९९४ मा पारित बेइजिङ घोषणापत्र र कार्ययोजनामा महिलाको मानव अधिकारभित्र विस्तृत रुपमा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई परिभाषित गरिएको छ । नेपालको संविधानले पनि पहिलोपटक संविधानको मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई समावेश गरेको हुँदा महिलाको प्रजनन स्वास्थ्यको हक संविधान प्रदत्त मौलिक हक भएको हुनाले यो उल्लंघन भएमा राज्य नै जवाफदेही हुनुपर्छ ।
नेपालमा पनि अव बिबाह नगरी बच्चा जन्माउन पाउने कानुन बन्दै छ, यसमा तपाँईको मत के छ भनेर पंत्क्करले सञ्चार क्षेत्रमा कार्यरत पत्रकार महिलालाई सोधेको छ । अनलाईन कुराकानीमा महिला पत्रकारहरुले दिएको जवाफ यस्तो छ ।
एक–‘जसको इच्छा जे लाग्छ गर्छन तर यो भन्दैमा जथाभावी हुँदैन । हाम्रो जस्तो देशमा अझै यो गा¥हो छ । शहरमा बसेका पढेलेखेका, आर्थिक रुपले सम्पन्नले गर्न सक्छन । म मत दिन चाहदिन र यसलाइ अश्विकार गर्न नि सक्दिन । कमसे कम बुवाले आफ्नो सन्तानलाई नाम नदिएका बालिकाले आमाको नामबाट पाउँछन् ।’
दुई–‘इच्छा हुनेले जन्माउन पाउनु पर्छ । तर संस्कार र पालनपोषण राम्रो हुनुपर्छ ।’
तीन–‘अब कुनै पनि महिला बिहे नगर्दैमा एक्ली हुदिनन् ।’
चार–‘सन्तान चाहने श्रीमान नचाहनेका लागि राम्रो हो ।’
पाँच–‘ठीक छ, अधिकार हो नि त ।’
छ–‘आमा बन्नकै लागि बिहे गर्नु पर्ने बाध्यता हट्छ, हरेक कुराका फाइदा र बेफाइला हुन्छन, दुरूपयोग या सदुपयोग आफ्नै हातमा ।’
सात–‘म सहमत छैन किनकी आज भोलिका घटनाहरुले नै हामीलाई देखाई सकेको छ कि यो राम्रो होइन भनेर बच्चा जन्माउन पाउने अधिकार त देला कानुनले तर तेस्को पनि होलानी मापदण्ड यस्तो अबस्थामा यो उमेरसम्म बिहे नभए भनेर त्यो भयो भने हुन्छ नत्र कुमारी आमा बन्न पाउने छ भन्दियो भने झन बिकृती भित्रिन्छ नेपालमा ।’
आठ–‘विकृति ,पुरुष शोषण, बलात्कारसम्बन्धि कानुनी बेबस्था । पुरुषको पाटोबाट पशुु प्रथा सिर्जना, सस्कार ओझेलमा ।’
नौ–‘स्वतन्त्रताको नाममा बढि नै स्वतन्त्रता भयो । सायद हाम्रो समाजले यो पचाउन सक्दैन र बाबुबिनाका बच्चा अर्थात बेबारिसे बच्चा बढ्ने क्रम बढ्छ र बच्चा स्याहार केन्द्र धेरै खोल्नु पर्ने अबस्था आउन सक्छ । त्यस्ता मान्छे कमै हुन्छ्न । म बिहे नगरी बच्चा जन्माउन चाहन्छु भन्ने मान्छे कति होलान र ? हद भए सयमा एक दुई । त्यही पनि गारो छ । अरुलाइ तिमी जस्तो मान्छेले श्रीमानको थर किन झुन्ड्याएको भन्ने महिला अधिकारबादी बिहे भएको भोलिपल्टै श्रीमान्को थर झुन्ड्याउने समाज हो हाम्रो ।’
दश–‘यो राम्रो कुरा हो, माया भनेर सब थोक गर्ने अनि बच्चा पेटमा आएपछि चाहि सामाजिक पारिवारिक यो त्यो भन्दै त्याग्दिनेको बानी अन्त्य हुन्छ ।’
एघार–‘ठिक हो । किनकी यसले महिलालाई वैवाहिक दास हुनुबाट मुक्त बनाउँछ ।‘
११ जना महिलाको धारणा जस्ताको तस्तै राखिसकेपछि ब्याख्या गर्नै पर्दैन, पाठकलाई पंक्तिकारको विचार लादेर के लाभ । तर पनि एउटा प्रश्न नराखी हुँदै भएन– ‘ठीक छ अधिकार हो, भन्नेहरुले अधिकारको अर्को पाटो कर्तव्य भूल्न हुन्छ कि हुँदैन ?’
नेपालको संविधान, कानुन, व्यबहारले ‘सकारात्मक बिभेद’को सुविधा दिएको छ । सकारात्मक सुविधाले परिणाम पनि सकारात्मक ल्याउँछ भन्ने अपेक्षा राख्नु अन्यथा होइन ।
नेपालमै जन्मे, हुर्के बढे । तर ‘अनागरिक’ भइरहनु पर्ने बाध्यताका कारण आमाको नामबाट नागरिकता दिएर ‘नागरिक’ बनाउने काम भइरहेको छ । हुन त नागरिकता प्राप्तीले मात्रै नागरिक होला कि नहोला ? यो बहसको पाटो छँदैछ ।
विवाह नगरी बच्चा जन्माउँदा महिलाको जीवनका तात्विक अन्तर के आउँछ ? विहे नगरी बच्चा जन्माएपछि महिलाको जीवनस्तरमा बिबाह पछि बच्चा जन्माएको भन्दा जीवनशैलीमा फरक आउँछ भने त्यसको अर्थ रहन्छ ।
सन्तान चाहने तर श्रीमान नचाहनेका लागि यसले राहत देला । तर ‘श्रीमान’ झेल्न नचाहनेहरुले सन्तानचाहिं झेलेर आफ्नो ‘स्वतन्त्रता’लाई फराकिलो बनाउलान वा झनै कुण्ठित पार्लान ?
यहाँ सन्तान जन्माउनु ठूलो कुरो होइन । पहिले सन्तान जन्माउन सक्ने हुनुपर्यो । जन्माउने मात्रै हैन, हुर्काउने, बढाउने पढाउने, संस्कार दिने ठूलो कुरो होला ।
सन्तान बढेर मलाई बाबा नभई भएन भन्यो भने आमाले बाबा चिनाउन सक्लिन कि नसक्लिन ? बाबा नभई भएन भन्ने सन्तानको जिद्दीलाई आमाले कसरी फेस गर्लिन ?
अध्ययनहरुले महिलाहरू पुरुषभन्दा बढी गरीबीका सिकार हुने गर्छन् । अब अरुमा नभए पनि सन्तानमा पुरुष भन्दा धनी हुन पाउने भए ।
अहिले राजिखुशीले अविवाहित महिलाहरु गर्भवती भए भने समाजले ‘लोग्ने’ खोज्छ । सहमतिमा सवै कुरा भए पनि पुरुषले बिहे नगरी बच्चा जन्माउन सहमति दिँदैन । कतिपय अबस्थामा बिबाहित भए पनि बच्चा जन्माउन दिँदैन । बाउ नदेखाई शिशुको जन्म दिनु पर्ने अवस्थामा महिलाले शिशु हत्या गरी, जेल जानु पर्ने हुन सक्छ । शिशुलाई जन्माउँदा ऊ घरपरिवार, आफन्त र समाजको लाच्छनाले बारबार मरिरहन्छे । यही भएका कारणले सन्तान जन्माउनु र विवाह गर्नु फरक फरक हो भन्ने कानुनी रुपमै स्थापित गर्न खोजिएको छ ।
हुन त विबाह गर्दैमा बच्चा जन्माउनै पर्छ भन्ने पनि नहोला । बिबाह संस्थाले सन्ताको ग्यारेन्टी गर्छ भन्ने पनि हुँदैन । बिबाह पछिको सन्तान बोझ, बिबाहरहित सन्तान चाहिं रहर भन्ने त हुँदैन । बिबाह अघि होस वा बिबाह पछि दुबै अबस्थामा सन्तान जन्माउन पुरुष चाहिन्छ, चाहिन्छ ।
सन्तान जन्माउनु अघि जो सुकैले प्रजनन स्वास्थ्य समस्याहरू र समाधानहरु बुझ्नुु आवश्यक छ ।
महिलाको शारीरिक बनोटका कारणले गर्दा यौन संक्रमण तथा एच.आई.भी.र एड्स लाग्ने जोखिमता पुरुषलाई भन्दा केही बढी हुन्छ । पुरुषको वीर्य महिलाको योनीभित्र पस्छ र वीर्यमा रहेका किटाणुहरू योनीको पातलो भित्ताबाट सोसिएर रगतमा पुग्छन् । महिलामा संक्रमणका चिह्नहरू प्रायजसो नदेखिने भएकाले उनले समयमै उपचार पनि पाउन सक्दिन ।
तर यो समस्या महिलाको शारीरिक बनावटसँग मात्रै गाँसिएको छैन, वास्तवमा यौनरोग र एच.आई.भी.को समस्या हाम्रो सामाजिक अवस्थासँग बढी गाँसिएको छ । महिलाहरू धेरैजसो अवस्थामा यौन सम्पर्क राख्ने र नराख्ने कुराको निर्णय गर्न र असुरक्षित यौन सम्पर्कलाई अस्वीकार गर्न पाउँदैनन् । परिणामतः विश्वमा बर्सेनि १ करोड ७० लाख महिलालाई यौन संक्रमण हुने गर्छ । उपचार नहुँदा यौन संक्रमण कारण अति दुखाई, प्रजनन अङ्गहरूका कडा संक्रमणित रोगहरू, बाँझोपन, गर्भावस्थाका समस्याहरू तथा पाठेघरको क्यान्सर हुने बढी खतरा हुनसक्छ । एच.आई.भी.र एड्सले त ज्यानै लिन्छ ।
विश्वका धेरै भागमा ३३ देखि ५० प्रतिशत युवतीहरू २० वर्ष नपुग्दै बच्चा जन्माउने गर्छन् । परिवार नियोजनका साधन अपनाउन नसक्दा बर्सेनि बच्चा जन्माउने महिलाहरू सुत्केरीबाट राम्ररी तङ्ग्रन पनि पाउँदैनन् । यसले गर्दा महिलाहरूको स्वास्थ्य कमजोर हुने र गर्भावस्था तथा बच्चा जन्माउँदा जटिलताहरू हुने जखिममा सक्छन् । बारबार बच्चा जन्माउनुको मतलब उनले आफ्नो जीवन आफ्नै वशमा लिन, शिक्षा पाउन र आत्मनिर्भर हुनसक्ने सीप सिक्न नपाउनु पनि हो ।
विश्वमा नै गएको ४० वर्षयता शिशु मृत्यु संख्यामा धेरै नै कमी आएको छ तर गर्भावस्था र सुत्केरी अवस्थामा मर्ने महिलाहरूको संख्यामा भने कमी आएको छैन । गर्भावस्थासम्बन्धी समस्याका कारणले नै विश्वमा हरेक एक मिनेटमा एउटी महिलाको ज्यान जाने गर्छ । विश्वमा हरेक एक मिनेटमा ३० महिलालाई गर्भावस्थासम्बन्धी स्वास्थ्य समस्या देखापर्ने गर्छ । यसको मतलब अहिलेसम्म विश्वका गरिब देशहरूका २५ प्रतिशत महिलाहरू गर्भावस्था र बच्चा जन्माउँदाका जटिलताहरूबाट चिन्ताजनक रूपले प्रभावित छन् ।
जब महिलाले गर्भ झार्न असुरक्षित गर्भपात गराउँछन्, उनको जीवन खतरामा पर्छ । विश्वमा हरेक दिन ५० हजार जति महिला तथा केटीहरू गर्भ झार्न असुरक्षित गर्भपातको उपाय अपनाउँछन् किनकि उनीहरूसँग सुरक्षित गर्भपात गराउने उपाय छैन । यसैकारणले पछि धेरैको सन्तान नहुने वा कडा दुखाइ, संक्रमण हुने र अन्य स्वास्थ्य समस्याहरू रहिरहन्छन्। नेपालमा गर्भपात सम्बन्धी कानुन भर्खरै बनेको भएतापनि स्वास्थ्यसेवा सुविधा अझै अपर्याप्त भएकोले अधिकांश महिलाहरूले सुरक्षित गर्भपात गराउने सकिरहेका छैनन् ।
महिलाहरू कामको बोझ, कम पोषण वा ज्यादै थकित भइरहने हुनाले पुरुषभन्दा बढी बिरामी भइरहन्छन् । रोगले पनि पुरुषलाई भन्दा महिलाहरूलाई बढी नोक्सानी पुयाउँछ । जस्तो, महिलाहरू बिरामी हुँदा कमजोर भए वा अपाङ्ग भए भने लोग्नेले उनलाई छोडिदिन पनि सक्छ ।
धेरै महिलाहरूको घरबाहिर काम गर्ने स्थान असुरक्षित भएका कारणले पनि उनीहरुमा स्वास्थ्य समस्या हुने गर्दछ । साथै बाहिरको काम गरेर फर्केपछि पनि उनीहरू आफ्नो नियमित घरधन्दा गर्छन्। यसरी उनीहरूले दोब्बरभन्दा बढी काम गर्नुपर्छ । यसले गर्दा उनीहरू बढी थाक्छन् र बिरामी हुने खतरा बढ्छ ।
महिला तथा पुरुष दुवैलाई मानसिक स्वास्थ्य समस्याहरू हुनसक्ने सम्भावना रहन्छ तर मानसिक बेचैनीले पुरुषलाई भन्दा महिलालाई बढी नोक्सान र गराउंछ । अभ समाजमा उथलपुथल भइरहेको समुदायमा धेरै बच्चाबच्चीकी आमा वा उत्पीडित महिलालाई अझ बढी यसले नोक्सान पुयाउँछ । यद्यपि जुनसुकै खाले स्वास्थ्यका समस्या आइपरे पनि महिलाले पुरुषभन्दा कम सहयोग पाउँछन् ।
विश्वका ३ जना महिलामध्ये २ जना गरिब छन् । महिलाहरू पुरुषभन्दा बढी गरिब मात्र होइन, उनीहरू गरिबहरूमध्ये पनि गरिब छन् ।
हाम्रो देशमा पनि लाखौ महिलाहरू गरिबीको कुचक्रमा फसेका छन् । महिलाका लागि यो कुचक्र जन्मनुअघि नै सुरु हुन्छ । गर्भावस्थामा आवश्यक आहार नपाउने महिलाबाट जन्मने बच्चा कम तौलका हुन्छन् र राम्ररी फस्टाउँदैनन् । गरिब परिवारमा छोरीहरूले छोराहरू जत्तिको आवश्यक आहार नपाउने भएकाले उनीहरू पुड्का हुने गर्छन् । छोरीलाई पढाइदैन, पढाए पनि कम पढाइन्छ । पढाइ र सीप नहुने हुनाले पुरुषले जस्तै काम गरे पनि थोरै ज्याला पाउँछन्। घरको काम त बिनातलबी भइहाल्यो । अत्यधिक कामको बोझ र थकावट, न्यूनपोषण र गर्भावस्थाका बेलामा हुने बेस्याहारले महिला तथा उनका बच्चाको समेत स्वास्थ्य कमजोर हुने गर्दछ ।
मेरो शरीर मेरो अधिकारलाई बच्चा पाउने अधिकारसंग मात्रै नजोडि सबै पाटोलाई हेर्नु आवश्यक छ । कुरो जति लामो गरे पनि निष्कर्ष त एउटै हो, सबै कुराले परिपक्क भएपछि मात्रै निर्णय गर्नु आवश्यक छ ।