काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको शुरुमै ओसासुनाका किकेले बराबरी गोल फर्काए ।
७८औं मिनेटमा ओसासुना १० खेलाडीमा समेटिन पुग्यो । करिम बेन्जेमालाई फउल गरेपछि डेभिड गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । प्राप्त पेनाल्टीमा बेन्जेमा चुक्दा रियल जितबाट वञ्चित हुन पुग्यो ।
यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल ७ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओसासुना १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।