काठमाडौं । श्रीलंकामा जारी यु-१७ पुरुष साफ च्याम्पियनसिपअन्तर्गत नेपालले भारतविरुद्ध सानदार पूनरागमन जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले भारतमाथि ३–१ गोल अन्तरको सानदार जित निकालेको हो ।
खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए ।
खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए । ६७ औं मिनेटमा सुवास बमले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।
जितसँगै नेपाल समूहको विजेता र भारत उपविजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।