काठमाडौं । नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई ६ विकेट हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले ।
शेखले ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्जुनले ५८ तथा वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए ।
केन्याका लागि भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको हो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २-२ विकेट लिए । साहब आलम र बसिर अहमदकाे नाममा एक/एक विकेट रह्याे ।