काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान हात्तीवनस्थित एक घरमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । बैठकमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यसक्रममा नेताहरूबीच चुनावी तालमेल र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।
निकट स्रोतका अनुसार करिव एक घण्टा भएको भेटवार्तामा भट्टराईले मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । साे प्रस्तावमा सकारात्मक रहेको बताउँदै अध्यक्ष प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका छन् ।गठबन्धनका एकीकृत समाजवादी र कांग्रेससँग पनि सल्लाह गर्नुपर्ने प्रचण्डकाे भनाइ थियाे ।
आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर नेसपा बनाएका भट्टराईलाई सहज छैन । त्यसकारण पनि उनले गठबन्धनका लागि राजनीतिक भेटवार्ता अघि बढाएका छन् । भट्टराईले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर पाँच दलीय गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।