काठमाडौं । तीनदिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविधि पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन्। उनले चीन बिरोधी कुनै पनि गतिबिधी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्। ताइवानसँगकाे बढ्दाे तनावमा नेपालकाे साे स्पष्ट धारणालाई चीनले प्रसंशा गरेको छ । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू खुसी थिए र प्रसंशा गरे’ बैठकमा सहभागी एक अधिकारीले भने ।
परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङबाट करिब दुई घन्टाको उडानबाट पुगिने छिङ्दाओ सहरमा ओर्लिएका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् ।