काठमाडौँ । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए ।
सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो ।
सुब्बा एकैपटक बिदामा मात्रै बसेनन्, सिंहदबारमा नाराबाजीसमेत गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालय गेटबाहिर उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरे ।
सुब्बाहरू एकैपटक आन्दोलनमा उत्रिएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, यातायात, वैदेशिक रोजगार, श्रमलगायत कार्यालयका काम ठप्प भए । सेवाग्राही कार्यालयमा गएर त्यसै फर्कन बाध्य भएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरमा समेत मंगलबार कुनै काम हुन सकेन । देशभरका संघीय कार्यालय यसरी नै ठप्प भए । कार्यालय एकाएक ठप्प हुँदा सरकारका अधिकृत, उपसचिव, सहसचिव र सचिव नै अचम्ममा परे । देशभरका नायब सुब्बालाई एकैपटक बिदा दिने सम्बन्धित अधिकारी र कार्यालय प्रमुख पनि दोषी देखिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।