काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने सुझाव दिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका हुन् । बैठकमा सहभागी एक पूर्वपदाधिकारीका अनुसार कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ । नभए कांग्रेसको सिट व्यवस्थापन सम्भव नहुने उनकाे भनाइ थियाे ।
बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको र पदाधिकारी र पूर्वपदाधिकारीलाई त्यही अनुरुपको मानसिकता बनाउन आग्रह गरेका थिए ।
गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ । आज दिउँसो ३ बजे नै आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।