काठमाडौँ । शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ ।
सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वाेच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वाेच्चले रिट नै खारेज गरेपछि आईजीपी बन्ने उनको योजनामा विराम लागेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनसम्मत भएको ठहर गर्दै खारेज गरेको हो ।
त्यस्तै, यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ । सर्वाेच्चले रिट खारेज गरेपछि अब एआईजी पोखरेलसँग दुईवटा मात्र विकल्प छ, अब कि जिम्मेवारीमा फर्कने, कि राजीनामा दिने ।
जिम्मेवारीमा फर्कन पनि उनलाई सजिलो छैन । आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै एक महिना बिदा बसेका उनले बिदा सकिएपछि थप ११ दिन बिदा माग गरेका थिए । तर, उनको निवेदन आईजीपी सिंहले अस्वीकार गरेका थिए ।
नियमित काममा नआई गयल भए प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रियासमेत अगाडि बढाइने चेतावनीसहितको पत्र त्यसैबेला पोखरेललाई पठाइएको थियो । बिदा सकेपछि २५ जेठबाट जिम्मेवारीमा फर्कनुपर्ने उनी त्यसपछि पनि लगातार अनुपस्थित छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।