काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसरमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने-‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’
उनले स्व. नेता कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने स्मरण गर्दै आज पनि सहमति, सहकार्य एकताको कुरा सान्दर्भिक रहेको बताए । कोइरालाले विराटनगरदेखि राष्ट्रिय राजनीतिसम्म पुर्याएको योगदानको पनि उनले चर्चा गरे ।