काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर ल्याएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आर्थिक वर्ष २०७९/०८० बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाएका हुन् ।
अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको पनि बताए । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’
यसबारे छानबिन गर्न ओलीले माग गरे ।
अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।
साथै उनले एसपीपीबारे उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । ‘इनफ इज इनफ, अब त अति भयो’ उनले भने । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।