काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार)देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।
आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फका १७ वटा विमान (फिक्स विङ्ग)ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार सोमबारदेखि तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौँबाहिर जानुपर्ने भएको छ । २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए।
उनले भने, “हेलिकोप्टरको रात्रि विश्राम जहाजको जस्तो तोकिएकै विमानस्थलमा नहुन सक्छ । हेलिकोप्टरले सिजन र व्यवसायअनुसार उडान भर्नुपर्ने भएकाले सबै कम्पनीका गरेर काठमाडौँमा २४ र काठमाडौँबाहिर १४ वटा हेलिकोप्टर कम्पनीले रात्रि विश्राम गर्नुपर्ने नियम लागू गरिएको छ ।” उनका अनुसार हेलिकोप्टरले दिउँसोभर जहाँ उडान भरे पनि रात्रि विश्रामा लागि सुरक्षा र पूर्वाधार भएको ठाउँमा जानुपर्नेछ । काठमाडौँमा कम्पनीले पाएभन्दा बढी सङ्ख्यालाई रात्रि विश्राम अनुमति दिइने छैन ।
सोमबारदेखि लागू भएको नयाँ नियमअनुसार अल्टिच्युड एयरका दुई, एयर डाइनेस्टीका तीन, हेली एभरेस्टका दुई, मनाङ एयरका दुई, कैलाश हेलिकोप्टरका तीन, मुस्ताङ एयरको एक, फिस्टेलका तीन, प्रभु हेलिकोप्टरका दुई, सिम्रिक एयरका तीन र श्री एयरका तीन हेलिकोप्टरले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान गर्न पाउने छन् । माउन्टेन एयरको एक, एयर डाइनेस्टीको एक, प्रभुका चार, सिम्रिकका दुई र श्री एयरका पाँचवटा हेलिकोप्टरले भने रात्रि बिसानका लागि मोफसलका विमानस्थलमा जानुपर्नेछ । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।