काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे सो कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाहीको सिफारिसलगायतका काम गर्नेछ ।
पत्ता लाग्लान् ?
कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटीका सदस्य खगराज अधिकारी सो कमिटीको सदस्य रहेका छन् ।
पार्टीभित्रैबाट भएका अन्तर्घातका घटनाको छानबिन र कारबाहीका सिफारिस गर्न सो कमिटी गठन भएको प्रवक्ता गुरुङले बताए । एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भिक निष्कर्ष रहेको छ ।
गुरुङले भने, ‘निर्वाचनका समस्या अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको छ । सो उजुरीमाथि छानबिन गर्न समिति बनाउने निर्णय भएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।