काठमाडौं । न त छाक टर्ने न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ ।
स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मिहिनेत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो, चुइगम आयातको तथ्यांक ।
न औषधि नै हुने न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ ।
मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलासी वस्तुको आयातमा अर्बौँ रकम बाहिरिइरहेको तथ्यांक समय–समयमा सार्वजनिक हुने गरेको छ ।
खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैँलाई थप परनिर्भर बनाइरहेका छन् । यस्तै तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइजस्तै ‘मुखको तितो मेट्न’का लागि चपाइने त्यस्ता वस्तुको आयातका लागि मात्र झन्डै ४१ करोड रुपैयाँबराबरको लगानी गरिएको छ । विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ ।
नेपालमा विशेषगरी चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै, यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार रुपैयाँबराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै, कुरकुरे, कुरमुरे, लेज, चिजबल्सजस्ता खानेकुराको आयात समेत करोडौँमा हुने गरेको छ । ती खाद्यपदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर, जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।
चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलोबराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्र मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार रुपैयाँबराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमा समेत अर्बौँ रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाख रुपैयाँभन्दा बढीका बिस्कुट आयात भएको छ ।
त्यस्तै, पापड १९ करोड ९४ लाख, मकैको खानेकुरा (कर्नफ्लेक्स) १८ करोड ४९ लाख रुपैयाँको आयात भएको विवरण छ । अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन । तर, सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्य रूपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन् ।
विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ । यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्य रूपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ ।