काठमाडौँ । सर्वोच्च अदालतले बारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय ‘हचुवाका भर’मा भएको ठहर गरेको छ । उसले ‘विमानस्थल निर्माण नगर्न’ सरकारको नाममा आदेशसमेत दिएको छ ।
‘विमानस्थल बनाउन हचुवाका भरमा निजगढ छानेको’ भन्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘समग्रमा हेर्दा हचुवा तवरबाट अनुचित र अनावश्यक रूपमा ठूलो परिमाणमा वातावरणीय विनाश हुने अवस्था पैदा हुने गरी आयोजना निर्माणस्थल चयन गरिएको देखिन्छ ।’
पाँच न्यायाधीशसम्मिलित बृहत् पूर्ण इजलासमा बहुमत न्यायाधीशले यस्तो फैसला गरेका हन् । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले ‘मुलुकलाई अन्तर्राष्ट्रिय विमानस्थल चाहिएकोमा विवाद नभएको’ भन्दै ‘प्राविधिक, वातावरणीय प्रभाव मूल्यांकनजस्ता कुरा ध्यानमा राखेर विमानस्थल बनाउन’ भनेका छन् ।
न्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशसिंह राउतको बहुमतीय रायले ‘नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न एयरपोर्ट आवश्यक रहेको’ भन्दै ‘विकल्प खोज्न’ भनेको छ । त्यो विकल्प ‘निजगढ नै हुने कि अन्त हुने ?’ भन्ने रायमा कुनै किटान भने गरिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।