काठमाडौँ । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको छ ।
सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि ‘चित्त बुझ्दो नभए’पछि भगवती लेमिनेट्सका सबै फाइल विभागमै तानिएको थियो । ती फाइल तानेपछि अनुसन्धान थालिएको हो ।
विभागका अनुसार आइतबार मात्रै भगवती लेमिनेट्सको राजस्व छली प्रकरण छानबिन गर्न नयाँ अनुसन्धान अधिकृत तोकिएको छ । यसअघि, तत्कालीन महानिर्देशक प्रकाश पौडेलले पनि अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गहन अनुसन्धान थालेका थिए ।
यसैबीच, केही दिनअघि मात्रै पौडेलको सरुवा भएपछि छानबिन प्रक्रिया अवरुद्ध भएको थियो । तर, हालै आएका नयाँ महानिर्देशक झलकराम अधिकारीले फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाएका छन् । भगवती लेमिनेट्समाथिको विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए । ‘नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि अनुसन्धान थालेका छौं, सबै प्रमाण केलाएर गम्भीरतापूर्वक छानबिन गर्छौं,’ महानिर्देशक अधिकारीले भने ।
विभागका अनुसार यसअघि सञ्चालकलाई समेत बयानका लागि बोलाउने निर्णय भएकाले नयाँ अनुसन्धान अधिकृतले पनि त्यसअनुसार बयान लिने छन् । विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनिश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई आवश्यकताअनुसार बोलाएर बयान लिने तयारी गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।