काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो ।
नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ । जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी-२० खेल्ने तय भएको थियो ।
नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ । यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।
क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएकाे छ ।
मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । पुवुदुले सागर र सुनिलकाे स्थानमा बसिर अहमद र पवन शर्राफलाई माैका दिएका छन् ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी