पोखरा । जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हाे । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन ।
लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।
काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ ।