काठमाडौँ । भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ।
केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ। भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
भारतले चिनी र गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले २०२२ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको थियो।
नेपालमा चिनी, गहुँलगायतका खाद्यवस्तु पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात हुँदै आएको छ। स्वदेशी उत्पादनले नथेग्ने भएकाले अधिकांश कृषिजन्य वस्तु भारतलगायत मुलुकबाट आयात हुँदै आएको छ। ‘चिनी र गहुँ आयात नहुँदा बजारमा असर पर्न सक्छ,’ सहप्रवक्ता केसीले भनिन्, ‘आपूर्तिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गरेका छौं।’ भारतले आन्तरिक खपतमा नपुग्ने भएपछि निर्यातमा रोक लगाएका खाद्यवस्तु अन्य देशबाट ल्याउने उनले बताइन्। ‘घरेलु प्रयोजनका लागि गहुँमा आत्मनिर्भर छौं भन्ने कुरा आएको छ,’ उनले भनिन्, ‘चिनी पाकिस्तानबाट ल्याउने विषयमा छलफल भएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।