काठमाडौँ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई झन्डै एक हजार मतले पछि पार्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालले ७१२७ मत प्राप्त गर्दा लामाले ६१५२ मत मात्र प्राप्त गरे। त्यस्तै, नेकपा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठ ४१३४ मतसहित तेस्रो स्थानमा सिमित रहे ।
०७४ सालमा नेपाल अध्यक्षमा कांग्रेसका वंशलाल तामाङसँग पराजित भएका थिए । तर, यसपटक भने उनी सफल रहे ।
उपाध्यक्ष पदमा पनि एमालेकै शोभना तामाङ ६५१३ मतसहित निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी दयाकुमारी मिश्र ६४६३ मतमा रोकिइन् ।
१२ वडा रहेको यस गाउँपालिकामा एमाले र कांग्रेसले ५/५ वटा वडा अध्यक्ष जितेका छन् भने माओवादी २ वटा वडाअध्यक्षमा विजयी भएको छ ।