काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना गरिरहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी सुनिता डंगोलबीच लोकप्रिय मत पाउने होड चलिरहेको छ ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले १० हजार ७९७ मत पाएका छन् । डंगोलले अहिलेसम्म १० हजार ४ सय ७७ मत पाएकी छन् । उनीहरुबीच ३२० मत अन्तरले लोकप्रिय मत पाउने होड चलिरहेको छ ।
हालसम्म मेयरमा नेकपा एमालेका केशव स्थापितले ५ हजार ७८७ मतसहित शाहलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ मत तथा विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले ७८ मत पाएकी छन् ।
यस्तै उपमेयरमा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ४८ मतसहित डंगोललाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले २ हजार २ सय २ मत पाउँदा विवेकशील साझा पार्टीकी ३ सय ९६ मत प्राप्त गरेकी छन् ।