काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा पहिलो पटक नेकपा एमाले क्लिन स्विप भएको छ । कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित हुँदा एमालेले खुला वडा सदस्यसमेत जित्न सकेन ।
नकर्मी ९ हजार ४३ मतसहित मेयरमा निर्वाचित भए भने उनका प्रतिस्पर्धि एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए ।
त्यसैगरी उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्य उप मेयरमा निर्वाचित भएकी छिन् । ८६ सय ६५ मत प्राप्त गरेकी शाक्यले एमालेकी बिन्दु महर्जनलाई पराजित गरेकी हुन् । महर्जनले ७२ सय ६ मत प्राप्त गरेकी थिइन् ।
वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुरमा एमालेले पहिलोपटक ठूलो धक्का व्यहारेको हो । अहिले कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् । जबकी २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो ।
तर, सो नगरपालिकामा एमाले अहिले दुई महिला सदस्यमा सीमित भएको छ । वडा नम्बर ३ मा दलित महिला सदस्य सुष्मा विश्वकर्मा ६९९ मतका साथ निर्वाचन भइन् भने वडा नम्बर ८ मा एमालेकी सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन् ।