चाडपर्वको लागि दक्षिण एशिया र त्यसमा पनि भारतीय उपमहाद्वीप संसारमै प्रसिद्ध स्थल भन्दा फरक नपर्ला । हिमवत् खण्डको गङ्गाको मैदानमा फैलिएको मध्यदेशीय संस्कृतिमा यस्तो परम्परा अझ उत्कृष्टतामा रहेको पाइन्छ । उत्कृष्टताको आधारको रूपमा अन्न भण्डारको मलिलो फाँट, विभिन्न अनुवांशिक जातिहरूको बसाइँ, दैनिक आय-आर्जनबाट पारम्परिक रूपमा प्रशस्त फुर्सदको समय आदिको जगमा शास्त्रीय देखि लोकसाहित्यमा पाइने ऋतु, महिना, दिन र रातका हरेक प्रहर, चाडपर्व र उत्सवको बेला तथा विभिन्न देवी-देवताहरूलाई आराधना गर्न असङ्ख्य ऋचा, श्लोक, गीत-कविताहरूको रचनाका साथै गायन र नृत्यको लामो परम्परा रहेको छ । त्यसैगरी यस क्षेत्रमा चाडपर्व र उत्सवहरू वैयक्तिक, पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्मका रहेका छन् । होलीलाई यस्तै चाडपर्वको रूपमा लिन सकिन्छ । वसन्त पञ्चमीको दिन शास्त्रीय रूपमा कवि जयदेवद्वारा रचिएका वसन्त श्लोकलाई वसन्त रागमा श्रवण गर्नुको साथै विद्याकी आराध्य देवीको रूपमा सरस्वती र कृषि जीवनको आराध्यदेवको रूपमा विश्वकर्माका साथै हल-गोरूको पूजाका साथ होलीका गीतहरूबाट यस उत्सवको सुरूवात हुन्छ । तर नेपालको पहाडी क्षेत्र र त्यसमा पनि काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्ठमीको दिन वसन्तपुर दरबार अगाडि विशेष रूपले सजाइएको लिङ्गो (चीर) गाडेपछि होली सुरू भएको मानिन्छ । त्यसैगरी यस पर्वको समापन पनि फागुनको पूर्णिमाको दिन त्यस लिङ्गोलाई ढालेर जलाएपछि हुन्छ भने मधेशमा चीर-दाहको भोलिपल्ट यानी चैत्र कृष्ण प्रतिपदाको दिन कुल-देवीदेवताको पूजन, अबीर अर्पण र स्वादिष्ट भोजनको सेवन तथा सामाजिक आदानप्रदानसँगै दिनभरि होलीका गीतहरू गाउँदै, रङ्गअबीर उडाउँदै साँझपख चीरदाहको ठाउँमा गई आगौं साल पुनः होली खेल्ने प्रतिबद्धताका साथ चीरदाहको खरानीलाई चन्दन लगाएर धुलो उडाउँदै समाप्त हुन्छ ।
कुनै पनि चाडपर्व त्यसै सुरू भएको हुँदैन । त्यसका केही निश्चित आधारहरू हुन्छन् । होलीका पनि यस्ता कैयौं आधारहरू जनजिब्रोमा रहेको पाइन्छ । ती आधारहरूलाई पौराणिक र लौकिक भनेर वर्गीकृत गर्न सकिन्छ ।
पौराणिक आधारहरूमा सबैभन्दा पहिलो आधार हिरण्यकशिपु-प्रहलाद प्रकरणलाई मानिएको छ । पौराणिक व्याख्या अनुसार सत्ययुगमा आर्यावर्तमा हिरण्यकशिपु नामका दैंत्य राजा थिए । उनको छोरो प्रह्लाद विष्णुभक्त निस्क्यो । प्रह्लादलाई उनले अनेक सम्झाइ-बुझाइ गर्दा पनि ऊ विष्णुभक्ति छोड्न तयार नभएपछि हिरण्यकशिपुले उसलाई मार्नका लागि पनि अनेक जुक्ति गरे, तर विफल रहे । त्यस्ता जुक्तिहरूमध्ये एउटा थियो प्रह्लादलाई जलाएर मार्ने । किनभने उनकी बहिनी होलिकासँग एउटा अग्निशामक बर्को थियो जसलाई आगोले छुँदैनथ्यो । हिरण्यकशिपुको आदेशानुसार नगरभरिबाट लुगाफाटा, काठदाउरा जम्मा गरी चीरा रचाइयो । त्यस चीरामा होलिका आफ्ना भदहालाई लिई बसी । चीरामा आगो लगाइयो । आगो सल्के पछि विष्णुले आफ्नो भक्त प्रह्लादलाई बचाउन त्यो बर्कोलाई होलिकाको जीऊबाट प्रह्लादको जीऊमा सारिदिए भन्ने विश्वास एकातिर छ भने अर्कोतिर आफूले पाउको सिद्धि वा वरदानको दुरुपयोग हुने भए पछि वरदानको प्रभाव क्षीण हुन पुगेको भन्ने विश्वास पनि छ । परिणामतः होलिका जली र प्रह्लादले पुनर्जीवन पाए । भोलिपल्ट वैष्णवहरूले प्रह्लादलाई जीवित पाउँदा विशेष उत्सवका साथ प्रह्लादको हर्षबढाइँ गरे । त्यो घटना फागुनको पूर्णिमाको सन्ध्यामा भएको बताइन्छ । त्यसै घटनाको संझनामा हरेक फागुन पूर्णिमाको सन्ध्यामा होलिका दहन गर्ने र भोलिपल्ट गीत-नाद, बाजा-गाजा र अबीरजात्राका साथ होलिका-दहनको खुशियाली मनाउने प्रचलन सुरू हुन गएको श्रीमद्भागवतले बताउँछ । खास गरी यस घटनाको मुख्यपात्र होलिका भएकोले यसलाई होली भन्न थालिएको पौराणिक मान्यता छ । कुनै पनि लडाइँमा विजितलाई गाली र अपशब्दको वर्षा गर्ने प्रचलन त स्वाभाविक नै हो । त्यसै अनुरूप होलिकालाई बदचलन, चण्डालिनी, दुष्ट आदि विशेषण भिडाउँदै यस उत्सवमा गाइने गीतहरू पनि होली भनेर लोकप्रिय भयो । तर त्यसैको निरन्तरतामा कालान्तरमा यी गीतहरू अश्लीलताको परिचायक पनि बन्दै गएका हुन् । भाषा भेद अनुसार ल र र ध्वनि एकअर्काको ठाउँमा प्रयुक्त हुने भएकोले भोजपुरी, मैथिली, अवधी, ब्रज, छत्तीसगढी आदि भाषाहरूमा स्थानविशेषमा यस पर्वलाई होरी पनि भन्ने गरिन्छ ।
अर्को पौराणिक सन्दर्भको रूपमा शिव-सती वियोगलाई पनि लिइन्छ । सतीको देहावसानपछि शिव विरहाग्निमा विरक्तिए । यता शैलपुत्री पार्वती शिवलाई पति पाउन तपस्यारत थिइन् । त्यसबेला देवताहरूले कामदेवलाई गुहारे । कामदेवले शिवमाथि कामवाण चलाए । शिवको वैराग्य पुनः रागात्मक भयो । परिणामतः शिव-पार्वती परिणय पनि भयो । तर क्रोधित शिवको तेस्रो आँखा पनि कामदेवमाथि खुल्यो । कामदेव भष्म भए । पछि रतीको पुकार सुनेर शिवले कामदेवलाई पुनः जीवित पारे । यस प्रसङ्गलाई दक्षिण भारतमा पिचकारीबाट छुट्ने रङ्गको फुहारलाई कामवाण र झोलाबाट निस्कने अबीरलाई रतिप्रीतिको प्रतीकको रूपमा लिइन्छ । शिव-पार्वतीको मिलनलाई मधेशमा होलीको यो गीतले झल्काउँछः
हाँथ लिह बेलपत्र के दउरा, मन से महादेव पूजऽ हे गउरा ... ...
त्यसैगरी होलीको सन्दर्भ रावणमाथि रामको विजयसँग पनि जोडिन्छ । पौराणिक व्याख्या अनुसार रामले रावणमाथि विजय त विजयादशमीमै गरेका थिए तर लङ्काबाट अयोध्या आउँदा फागुन पूर्णिमा लागिसकेको थियो । यस सन्दर्भलाई मधेशमा गाइने यो होलीको गीतले स्पष्ट पार्छः
चलऽ हो भरत भइया होरिया खेलन के, बनवा से अइलें भगवान ... ...
होलीको अर्को सन्दर्भ पुतना बधसँग पनि जोडिन्छ । द्वापर युगमा कृष्णलाई बाल्यावस्थामै मार्नका लागि कंसले पुतनालाई पठाएको थियो । पुतनाले आफ्नो स्तनमा विषको लेप लगाई कृष्णलाई स्तनपान गराएर मार्न आएकी थिई । गोपिनीको भेषमा पुतना यशोदाबाट कृष्णलाई लिएर स्तनपान गराउन लागी । तर परिणाम उल्टो भयो । उनी राक्षसीकै असली स्वरूपमा आएर प्राण त्यागी र कृष्ण मुसुमुसु हाँस्दै उसको जीऊमा बामे सर्न लागे । पुतनाबधको यो खुशियाली फागु खेलेर मनाएको सन्दर्भ पनि पौराणिक आख्यानहरूमा पाइन्छ ।
अलग अलग पौराणिक प्रसङ्गहरूले यस पर्वको सुरूवात गरेको बताए पनि वास्तविकतामा यो एउटा कृषि पर्व नै हो । भारतीय उपमहाद्वीपमा खास गरी आर्यहरू आई कृषि जीवन सुरू गरेपछि बाली भित्र्याउँदा केही भोजभतेर र उत्सव गरी नयाँ अनाजको उपयोग गर्ने परम्परा सुरू भयो । वास्तवमा चाडपर्वहरू पनि समय सापेक्षतामा आफ्नो स्वरूप बदलिरहन्छ । वैदिककालमा गृहिणीहरूले परिवारको सुख समृद्धिको लागि पूर्ण चन्द्रको पूजा गर्ने गर्दथिन् । यस प्रकार यो वर्षको अन्तिम पूणर्चन्द्र पूजनको भोलिपल्ट नववर्ष मनाउने पर्व हो । त्यसबेला यसलाई नवात्रैष्टि यज्ञ भनिन्थ्यो । वास्तवमा फागुन महिनामा खेतमा अधपकू बालीको शोभा नै अर्कै हुन्छ । तिनका बालाहरू यस यज्ञमा अग्निदेवलाई अर्पण गरी प्रसादको रूपमा समतको ओरहा भनेर खाने प्रचलन यस पर्वको मधेशमा पारम्परिक आकर्षणमै पर्छ । केही स्थानविशेषमा अन्नलाई होला भन्ने गरिएकोले यस पर्वको नाम होलिकोत्सव भएको जनश्रुति पनि छ । हाम्रो आफ्नै परिवेशमा अधपकू बालाहरूलाई आगोमा पोलेर खाने परिकारलाई भोजपुरी भाषामा ओरहा वा होरहा भनिन्छ र समतको आगोमा होरहा पोलेर खानुको साथै औषधीको रूपमा पनि वर्षभरि राख्ने परंपरा छ । तसर्थ होरहा पोल्ने लोकमान्यता अनुसार हाम्रो क्षेत्र मा होरी हुन गएको प्रस्टै देखिन्छ । अतः चुरो कुरो होला वा होरहाका विभिन्न परिकारको प्रयोग हुने भएर यो पर्व होली वा होरी भएको तथा फागुनभा हुने भएकोले फागु वा फगुवा भएको बलिया लोकाधारमा विभिन्न पौराणिक कथाहरू जोडी यसलाई अध्यात्मसँग गाँस्ने प्रयत्न भएको देखिन्छ । यो पर्व नववर्षको पूर्वसन्ध्यामा चालू सम्वत्लाई होलिकादहनसँगै बिदाइ गरी नयाँ वर्षको प्रतिक्षा गर्ने र भोलिपल्ट समतको ओरहासँगै नयाँ अन्न खाएर नववर्षोत्सव मनाउने क्रममै अगाडि बढेको यसको वास्तविक लौकिक पक्ष हो ।
होलीभन्दा पहिलेका दिनहरूमा खास गरी मधेशमा तोरी, सर्स्यूं, आलस जस्ता तेलहनलाई पेलेर तेल व्यवसाय गर्ने तेलीहरूले तेलहन काँचो भनेर तेल र तेलहनको अनुपात १:४ कायम राख्ने अर्थात एक सेर तेलको लागि चार सेर तेलहन लिने गरेको र होलीको दिनदेखि त्यो अनुपात २:७ मा झार्ने अर्थात एक सेर तेलको लागि साढे तीन सेर तेलहन लिने गरेको परम्परा मैले स्वयं अनुभूत गरेको छु ।
चाहे पौराणिक मान्यता अनुसार होस् वा कृषि उपज उपभोगको दृष्टिले नयाँवर्ष मनाउने प्रचलन अनुसार होस् होलिका दहन (चीरदाह) को उत्सवको भोलिपल्ट होलीको विशेष उत्सव मनाउनु बढी तर्कसङ्गत देखिन्छ । यस हिसाबले यो पर्व भारतवर्षको गङ्गा मैदान हुँदै मध्यदेशीय संस्कृतिको रूपमा पहाडमा अलि पछि पसेको देखिन्छ जसले गर्दा यसको सुरूवात र समापनमा पनि दुबै ठाउँमा भिन्नता रहेको अनुभूत हुन्छ ।
मधेशमा श्रीपञ्चमी पनि कृषिपर्वको रूपमा नयाँ ऋतुको लागि हलगोरू तयार गरी दसमोड हलो जोतेर मनाइन्छ जुन सन्दर्भ पहाडमा देखिँदैन । पहाडमा यो पर्व सीमित रूपमा सरस्वतीपूजामा मात्र सीमित छ । तसर्थ शास्त्रीय र लौकिक रूपमा मधेशले होली श्रीपञ्चमीकै दिन सुरू गर्छ भने पहाडले शास्त्रीय रूपमा श्रीपञ्चमीको दिन वसन्त राग श्रवण गरे पनि होली फागुन शुक्ल अष्ठमीदेखि मात्र सुरू गर्दछ । होलीका गीतहरूको सन्दर्भमा नेवार समुदायमा आफ्नै किसिमले गाउने परम्परा रहेपनि पहाडका अन्य समुदाय र खासगरी आर्य-हिन्दू खस समुदायमा त्यस्तो गीत-नादको पारम्परिक अभ्यास देखिँदैन । त्यसै गरी मधेशमा रङ्ग-अबीर छ्यापेर वा दलेर होली मनाइन्छ भने पहाडमा ब्यालूनमा फोहर पानीसम्म हालेर लोला हानी होली मनाइन्छ । खानपीनको कुरा गर्ने हो भने यस पर्वमा मासु-मदिराको प्रधानता जहाँ पनि देखिन्छ । तर मधेशमा होलिका दहनसम्म पूरै फागुन महिना पारम्परिक रूपमा मासु बर्जित रहन्छ । होलिका दहनको भोलिपल्ट यानी होलिकोत्सवका दिन मात्रै मांसाहारी भोजन सेवन गरिन्छ । खासगरी मधेशमा होलिका दहनको दिन नयाँ दलहनको बरी, पकौडा, कर्ही जस्ता परिकारहरू लोकप्रिय छन् भने होलीकोत्सवमा मांसाहारी परिकार बाहेक शाकाहारी परिकारहरूमा पकौडा र पुआ बढी प्रचलित छन् । त्यसै गरी जाँड रक्सी बाहेक नशालु परिकारहरूमा भाङ, धतुरो र कुश्मा बढी प्रचलनमा देखिन्छन् । गीत-नादमा पारम्परिक रूपमा डम्फ, मृदङ्ग, झ्याली, झील, मजीरा, ढोलक आदि अद्यपि प्रचलनमा छन् ।
जहाँ जसरी मनाइए पनि यो पर्व भाइचारा, मित्रता र सौहार्द्रताको प्रतीककै रूपमा जहाँ पनि मनाइन्छ । यसमा वणर्भेद, धर्मभेद, वर्गभेद, इर्ष्या, द्वेष केहीको पनि स्थान रहँदैन । यस पर्वमा उमेरको हद पनि बाधक हुँदैनः
फागुन में बुढ़ऊ देवर लगिहेन, एजी फागुन में ... ...
अर्थात फागुनभरि बुढाहरूसँग पनि देवर झैँ जिस्किन पाइन्छ ।
अर्थात सुरूवात सनातनी परम्परा अनुसार भए पनि दक्षिण एशियामा अहिले यो पर्व हिन्दू, मुसलमान, सिख, इसाई, बौद्ध सबैका बीचमा मनाइन्छ । त्यसै गरी केटाकेटी, युवायुवती, बृद्धबृद्धाहरू सबैले सबैसँग यो पर्व मनाउँछन् । यो पर्व मिलनको पर्व होः
होरी के दिन में सब से मिलके, खेलऽ भइया होरी
सालभर के इहे मिलनवा, खेलऽ भइया होरी ... ...
यसको ऐतिहासिकताको सन्दर्भमा सत्ययुग भन्नु नै ढुङ्गेयुगतिर सङ्केत गर्छ । अर्थात होली प्रागैतिहासिक कालदेखि भारतीय उपमहाद्वीपमा मनाउने प्रचलन रहेको देखिन्छ । त्यसैले यसको वणर्न अनेक सनातनी धर्मग्रन्थहरूमा पाइन्छ । जैमिनीका पूर्व मीमांसा-सूत्र, कथा गार्ह्य-सूत्र, नारद पुराण, भविष्य पुराण, श्रीमद्भागवत्, महाभारत, रामायण आदि ग्रन्थहरूमा यस पर्वको उल्लेख पाइन्छ भने ऐतिहासिक रूपमा विन्ध्यक्षेत्रमा ३०० वर्ष पुरानो एउटा अभिलेख रामगढमा पाइएको छ जसमा यस पर्वको उल्लेख छ ।
सुप्रसिद्ध युनानी पर्यटक अलबारुनीले पनि आफ्नो ऐतिहासिक नियात्रामा होलिकोत्सवको वणर्न गरेका छन् । कतिपय मुस्लिम साहित्यकारहरूको रचनाले पनि यो पर्व हिन्दूमा मात्र सीमित नरही मुसलमानहरूले पनि मनाउँदै आएको सङ्केत गर्दछ । मुगल सम्राटहरूमा अकबरले जोधाबाईसँग र जहाँगीरले नूरजहाँसँग होली खेलेको वणर्न भारतीय इतिहासकारहरूले गरेका छन् । शाहजहाँको पालामा होलीलाई ईद-ए-गुलाबी वा आब-ए-पाशी (रङ्गको बौछार) भनिन्थ्यो । अन्तिम मुगल सम्राट बहादुर शाह जफरलाई रङ्ग-अबीर लगाउन उनका मन्त्रीहरू आउने गरेको पनि बताइन्छ ।
समयसापेक्षतामा सबै चाडपर्वहरू आधुनिकताको रङ्गमा रङ्गिँदै जाँदा होली पनि अब अपवाद रहेन । हिउँदे बाली भित्र्याउने पूर्वसन्ध्यामा वसन्तको आगमनमा मनाउने यो पर्व अब कृषि उपजको उपयोगमा मात्र सीमित नरही यस अवसरमा स्वदेशी-विदेशी नरम-कडा पेय पदार्थको सेवन, रङ्ग-अबीरमा सीमित नरही इनामेल पेन्टिङ र ढलको पानी भरेर लोला हान्ने तहसम्म पुगिसकेको छ । नेपालको सन्दर्भमा पहाडमा फागु पूर्णिमा र मधेशमा चैत्र कृष्ण प्रतिपदाको एका बिहानैदेखि होलीको चहलपहल सुरू हुन्छ । मांसाहारीहरूले आ-आफ्ना गच्छे अनुसारको मासु, शाकाहारीको हकमा पुआ, सेलरोटी, पकौडा लगायतका मीठा परिकारहरूका साथ गाँजा, भाङ, कुश्मा, जाँड, रक्सी, बियर, ह्विस्की, ब्राण्डी, शाम्पेन सबैको जुगाड गर्न थाल्छन् । बिहान नुहाइ-धुआइ गरी परम्परा अनुसार कुलदेवीदेवतालाई अबीर चढाई हल्का खाना खाई रङ्ग-अबीर छ्याप्ने-दल्ने क्रम सुरू हुन्छ । मधेशमा अपरान्हपख ढोलक, झ्याली, मजीरा, मृदङ्ग, झील आदि बजाउँदै टोल-छिमेकमा होली खेल्ने र सहयोग उठाउन खासगरी तन्नेरीहरू अघि सर्छन् । साँझ पख पहाडमा दिनभरीको रङ्गअबीर धुन नुहाइधुवाइ गरी चीरदाहका लागि भेला हुन्छन् भने मधेशमा चीरदाह गरिएको ठाउँमा आएर खरानीको टीको लगाउँदै धुलो उडाउँदै घर फर्केर नुहाइधुवाइ गरी होलीको विसर्जन गर्दछन् । यसरी धुलो उडाउन जाने क्रममा फागु गाउँदै जान्छन् भने धुलो उडाएर फर्किने क्रममा चैतावर गाउँदै घर फर्कन्छन् । धुलो उडाउने भएर यस पर्वलाई धुरखेल पनि भनिन्छ । फागुनसँग सम्बन्धित भएकोले पहाडमा फागु र मधेशमा फगुआ भनिन्छ भने होलिका वा अन्नलाई होला भन्नुको साथै होरहाको पर्व भएकोले होली वा होरी भनिएको तथ्य माथि आइसकेको छ । व्यापकताको हिसाबले होली वा होरी नै यसको प्रचलित नाम स्थापित छ । विभिन्न प्रसङ्गहरूले यसलाई विजयोत्सवको रूपमा मनाउने गरेको जनाउँछ । तसर्थ सीमित रूपमै भए पनि पहिचानको आधारमा संघीयता कायम भएकोले मधेश प्रदेशले यस वर्ष विभिन्न ठाउँमा औपचारिक/अनौपचारिक रूपमा होली मिलन समारोहको आयोजन गरेका समाचारहरू पनि आएका छन् ।
तर अब समयसँगै जीवनमा आएको व्यस्तता र व्यवसायिकीकरणले रङ्ग-अबीर वा होली गायन-नृत्य गाउँघरमा प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ । खानपीन र रेडियो/टलिभिजनका विभिन्न फ्रिक्वेन्सी र च्यानलहरूबाट बज्ने गीतहरूमै अब फागुको आकर्षण सीमित हुँदै गएको देखिन्छ ।
जे भए पनि वर्षमा एकचोटी रिस, राग, छल, कपटलाई बिर्सेर मित्रता र भाइचारको अङ्गालोमा समेट्ने यस पर्वले शालीनताका साथ मनाउने निरन्तरता खोजेको छ । जीवनमै उल्लास र मनोरञ्जन चाहिन्छ, मृत्यु पछि त लेखाजोखा मात्रै बाँकी रहन्छः
जे जिए से खेले फाग, जे मरे से लेखा लाग ... ...