काठमाडौं । चेक अनादर मुद्धाका फरार अभियुक्त ठोरी गाउँपालिका–३ बस्ने रोहित कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काको बिरुद्ध पोखरिया नगरपालिका–६ पर्साका रामराज प्रसाद चौहान र विन्दवासिनी गाउँपालिका–२ पर्साका छोटेलाल प्रसाद यादवले मुद्धा दायर गरेका थिए ।
छोटेलाल प्रसाद यादवले दायर गरेको मुद्धालाई जिल्ला अदालत पर्साले २०७६ जेठ ६ गते र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजको २०७७ फागुन ७ गतेको फैसला गरेको थियो । त्यस्तै रामराज प्रसाद चौहानले दायर गरेको मुद्धालाई जिल्ला अदालत पर्साले २०७९ चैत्र ३ गते र उच्च अदालतले २०७१ बैशाख १४ गते फैसला गरेको थियो ।
दुबै चेक अनादर मुद्धामा २, २ वर्ष कैदमा राखी वादीको विगो रकम असुल उपर गर्नुपर्ने भनि आदेश भएको छ । कैद ठहर भएपछि फरार रहेका खड्कालाई पर्सा जिल्ला अदालतको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले बुधबार सुन्धाराबाट पक्राउ गरि पर्सा जिल्ला प्रहरीलाई बुझाएको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि आज पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी पर्सा प्रहरीले गरेको छ । पक्राउ परेका खड्का नेपाली काँग्रेसको पर्सा सभापती तथा मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीका आफ्नै सालो हुन् ।