भरतपुर । चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोस्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरका प्रमुख शिरीष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैध रूपमा भित्र्याएको हुन सक्ने बताए । “बिलमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतापपुरको सुजु एन्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन,” उनले भने, “भारतबाट अवैध रूपमा भित्रिएको हुनसक्छ ।”
अवैध रूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् । ‘आइस’मा राखिएको माछा लु३च १७९४ नम्बरको गाडीमार्फत काठमाडौंतर्फ लैजान लागिएको थियो । जाँचका क्रममा प्रहरीको सहयोगमा बरामद गरिएको प्रमुख गौतमले जानकारी दिए ।
सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । “भौतिक रूपमा हेर्दा माछामा गन्ध आएको छ,” उनले भने, “अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।”
अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । ती माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँबराबर हुने गौतमले जानकारी दिए । तर, बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ ।
मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्र्याइने क्रम नरोकिएको बताए । उनले १० महिनाको अवधिमा चितवनमा मात्र चारपटक अवैध रूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए ।
बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
चितवनमा वार्षिक पाँच हजार मेट्रिकटन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा निर्यात समेत हुने गरेको छ । यहाँ करिब १५ किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी संघले जनाएको छ ।