काठमाडौं । नेपाल सरकार, भाषा आयोगका नवनियुक्त अध्यक्ष डा.गोपाल ठाकुर तथा सदस्य डा.पुष्करराज भट्टले आज शपथ ग्रहण गरी पदभार ग्रहण गर्नु भएको छ ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा एक समारोहका बीच भाषा आयोगका दुबै पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनु भयो ।
भाषा आयोगका अध्यक्ष डा.ठाकुर आफ्नो जातीय पोशाक धोती-कुर्ता-बण्डी-गम्छामा सजिएर आफ्नो मातृभाषा भोजपुरीमा समेत शपथ लिनु भयो भने सदस्य डा.भट्ट दौरा-सुरुवाल-कोट-ढाकाटोपीमा सजिएर नेपालीमा शपथ लिनु भयो ।
यस अवसरमा भाषा आयोगका सदस्यहरू ऊषा हमाल, डा.अमरराज गिरी, अमृत योञ्जन तामाङ, गोपाल प्रसाद शर्राफ (गोपालअश्क) तथा कृष्ण प्रसाद न्यौपानेका साथै आयोगका सचिव जयराम अधिकारी, उपसचिव कमला पाण्डेयसमेतका कर्माचारीहरू उपस्थित हुनुहुन्थ्यो ।
यस अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर तथा रजिष्ट्रार नारायणप्रसाद पन्थीसहितका कर्मचारीहरू समेतको उपस्थिति थियो ।
शपथ ग्रहण पछि अध्यक्ष डा.ठाकुर एवम् सदस्य डा.भट्टलाई भाषा आयोगमा निवर्तमान कार्यवाहक अध्यक्ष ऊषा हमाल तथा अन्य सदस्यहरूको साथै सचिव अधिकारीसमेतका कर्मचारीहरूले एउटा संक्षिप्त कार्यक्रम गरी स्वागत गरेका थिए । स्वागत कार्यक्रम पछि दुबैजनाले आजै पदबहाली गरी आ-आफ्ना कार्यभार ग्रहण गर्नु भयो ।