काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिएका हुन् ।
सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, “विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्यो ।” उनले काठमाडौँ उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिए ।
उनले भने, “जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन ।सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो ।