Sunday, May 27, 2018
Home > अन्तर्वार्ता > ‘एक तिहाइ’मा कुरा नमिलेकाले एकतामा गतिरोध : गजुरेल

‘एक तिहाइ’मा कुरा नमिलेकाले एकतामा गतिरोध : गजुरेल

पार्टी एकतामा पछिल्लो घटनाक्रम के भइरहेको हो? माओवादी हेडक्वार्टर बैठकमा के कुरा उठे?

वैचारिक, राजनीतिक विषयमा कुराहरु लगभग टुंगिएको स्थिति छ। अब सम्मानजनक एकता भन्नाले खासगरी संख्याहरु कसरी मिलाउने भन्ने कुरा हो। पछिल्लो समय उहाँहरु (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल) बीच एमालेभित्र धेरै पुराना मान्छेहरु भएकाले अरु सिटहरु मोटामोटी समान समझदारी बनाएर राख्ने, केही चाहिँ पुराना साथीहरुलाई ‘एडजस्ट’ गर्नुपर्ने हुनाले व्यवस्था गर्ने भन्ने समझदारी के भयो। ८-१० सिट थप व्यवस्था गर्न सकिन्छ, पुराना साथीहरु जसलाई सम्मान गरेर राख्नुपर्नेछ, त्यो चाहिँ सकिन्छ भन्ने कुरामा उहाँहरुको सहमति हो। पछि केपी शर्मा ओलीबाट चाहिँ साथीहरुले मानेनन् भन्ने कुरा आयो।

एकता गर्ने भनेपछि भोलि अध्यक्ष प्रचण्डले पनि त आफ्नो पंक्तिलाई कन्ट्रोल गर्नुपर्‍यो। आफैं मात्र जाने, आफ्नो पंक्तिलाई ‘ह्युमिलिएट’ गराएर एकता गर्नुको त के अर्थ भयो र। यसले त झन् समस्या न हुन्छ। आफ्नो पंक्तिलाई पनि तरिका मिलाएर एकतामा लाने कुरोको नेतृत्व गरेर जाँदा चाहिँ त्यो सफलता हुन्छ भन्ने भयो।

हामीले अरु त जे-जे मिलाए पनि भयो नि। अतिवादी प्रवृत्ति छ, हाम्रै पार्टीबाट गएका एकता विरोधीहरु पनि छन्, बाहिर पनि छन्, उनीहरुलाई झन् स्पेस दिनु भएन नि। यदि यो माओवादी पंक्ति ह्युमिलिएट भयो भने त उतैतिर जान्छ। त्यसले त बदलाको भावना लिन्छ। त्यो त एमालेकै लागि पनि प्रत्युत्पादक हुन्छ नि। त्यसो गर्नु हुँदैन भन्ने कुरा हो।

एमालेभित्र माधवकुमार नेपालहरुले मान्नु भएन भन्ने कुरा आयो नि?

को-कोबाट आयो, कसकसले मान्नु भएन त्यो त अर्कै कुरा हो। तर त्यस्तो कुरा आइसकेपछि चिजहरु अगाडि बढेन। अरु सबै कुरा मिल्यो। वैचारिक, रजानीतिक अरु सबै कुरा मिल्यो तर त्यहाँ गएर चाहिँ अड्कियो। पहिला त समान आधारमा सम्मानजनक एकता हुँदैछ भन्ने हुनुपर्‍यो। न्यायपूर्ण पनि त हुनुपर्‍यो नि।

अहिले कुन पार्टी ठूलो, कुन पार्टी सानो भनेर त्यतातिर बढी छलफल गर्नुभन्दा मुख्य कुरो त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो। एकता सम्मानजक, समानताका आधारमा, न्यायपूर्ण पनि हुनुपर्‍यो भनेर करिब-करिब टुंगिएको कुरा हो।

समान हैसियत भनेको चाहिँ कस्तो?

केन्द्रीय समितिमा मोटामोटी वहाँहरुको २ सय जना जति रहेछ, माओवादीबाट पनि त्यति राख्ने र अरु ८-१० जना उहाँहरुको विशेष व्यवस्थापन गर्नुपर्नेछ भने त्यसलाई पनि राखौं भन्ने हो। अब बराबरी भनेर अंक जोडेर त बराबरी भन्ने कुरा होइन। हामीले धेरै खोज्ने कुरा पनि आएन, एमालेको स्थितिलाई पनि त हेर्नुपर्‍यो। यदि, त्यस्तो छ भने ८-१० जना साथीहरु छन् भने, को-को छन् छलफल गरेर व्यवस्थापन गर्न सकिन्छ।

५०/५० प्रतिशत भन्ने कुरा हो त्यो?

५०-५० प्रतिशत नै भन्ने कुरा होइन, अंक त यताउति हुन सक्ने भयो। तर समान हैसियत त हुनुपर्‍यो। अब उहाँहरुले हाम्रो चाहिँ दुई तिहाइ उता एक तिहाइ गरेर त त्यो एकताको के अर्थ भयो र? त्यो एकता त झन् प्रत्युत्पादक पो हुन्छ त, त्यो एकता ‘फ्रुटफुल’ हुन्छ र? मुख्य कुरा समान हैसियतमा एकता हुनुपर्‍यो। उहाँहरुले हिजो मनमोहन (मनमोहन अधिकारी) जीहरुसँग एकता हुँदा बराबरी दिएको होइन? कत्रो थियो त मनमोहनजीहरुको पार्टी त्यतिबेला? शक्तिको हिसाबले त एमाले त धेरै ठूलो भइसकेको थियो। राष्ट्रिय पञ्चायतको चुनावहरु जितिसकेका थिए। तर, किन गरे त भन्दा त्यो एकता गर्दा कुनै पनि पक्ष ह्युमिलिएट हुनु हुन्न भनेर नै हो। भनेको, ओलीजी पनि ह्युमिलिएट हुनु भएन, प्रचण्डजी पनि ह्युमिलिएट हुनु भएन।

त्यसो त, माओवादीमा पहिला एकता गर्न आउने पार्टीले पनि बराबरी हैसियत पाएका थिएनन् भन्ने कुरा छ नि?

त्यो कुतर्क हो। एजेन्डा ठूलो हो कि पार्टी ठूलो? राष्ट्र ठूलो कि पार्टी ठूलो त्यसो भए? एजेन्डा हो नि मेन। एजेन्डाको बाहक, जुन संघीयता, गणतन्त्रको वाहक त सबै माओवादी होइन? अनि माओवादी सानो भन्न मिल्छ, एजेन्डा हो नि मूल कुरो। बोल्सेभिक कति थियो भन्नु त? बोल्सेभिकभन्दा मेन्सेभिक धेर थिए। एजेन्डाले गर्दा क्रान्ति गरिदियो बोल्सेभिकले। पछि संसदीय चुनाव भयो उनीहरुले जिते र मेन्सेभिक पनि त ठूलो पार्टी भयो नि। त्यसैले पार्टीको कुरा र चुनावको कुरा फरक हुन्छ नि।

एमालेमा आफू ठूलो हुँ भन्ने दम्भ देखिएको हो त्यसो भए?

यसले आशंका गर्ने ठाउँ देखियो। किन त्यसो गर्नुहुन्छ उहाँहरु? जुन कुरा जरुरी छैन। माओवादीलाई बराबर हैसियत दिँदैमा एमाले ह्युमिलिएट हुँदैन। दुइटा अध्यक्ष हुने भनिएको छ। महाधिवेशनसम्म सहमतिबाट गर्ने भनिएको छ। त्यो कुरा आउँदा चाहिँ किन गर्नु हुन्न उहाँहरु? माओवादीलाई विलय गराउने कुरो, माओवादीलाई ह्युमिलिएट गराउने कुरो त्यो राम्रो हुन्छ त? एमालेमा त एकता विरोधी पक्ष छैन नि, माओवादीसँग त एकता विरोधी पक्ष पनि छ। ‘तपाईंहरुले त्यसो गर्नु हुन्न (असमान एकता)’ भनेर उहाँहरुले नै भन्नुपर्ने हो नि, ‘अहिले बराबरी हैसियत लिनोस् पछि महाधिवेशनमा जाँदा मिलाउँला बरु, के-के गर्नुपर्छ।’ त्यो बेलामा को-कसको योग्यता, क्षमता कति भन्ने एकै ठाउँ आइसकेको हुन्छ, कुनै प्रतिशत लगाउनुपरेन।

Leave a Reply