Sunday, May 27, 2018
Home > पत्रपत्रिकाबाट > ३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

काठमाडौं – अन्नपूर्ण पोस्ट दैनिकले आज ३३ किलो सुन प्रकरणको अनुसन्धानको प्रगतिको विषयमा समाचार छापेको छ ।
३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् ।

समाचारमा लेखिएको छ- प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको ३३ किलो सुनको सोधखोज गर्न अझैसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विमानस्थलस्थित अध्यागमन कार्यालय र पर्याप्त रूपमा हवाई एजेन्सीलाई छानबिनको दायरामा ल्याइएको छैन । समितिले केही व्यापारी र प्रहरी नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

प्रहरी मात्रैको मिलेमतोमा विमानस्थलबाट सुन बाहिरिने हो त ? , छानबिन समितिमाथि अहं प्रश्न तेर्सिएको छ । सुन बरामद घटनाबारे विस्तृत अनुसन्धान नगरिएका कारणसमेत तस्करले उन्मुक्ति पाउने गरेका छन् । भन्सारको एक्सरे मेसिन छलेर सुन बाहिरिएको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीको जफावदेहिताबारे गृहसहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समिति मौन छ । झन्डै एक महिनासम्म अनुसन्धानमा तल्लीन समितिको निष्कर्ष छ, ‘यसअघिका सुन बरामद घटना राजस्व अनुसन्धान विभागमा बुझाउने पुरानो प्रथाका कारण सुन हराउने र तस्कर मौलाउने गरेको देखियो ।’
नयाँ फाइल खोल्दै समिति
समितिका संयोजक पौडेलले प्रारम्भमा प्रहरी, केही व्यवसायी र एयरलाइन्सका केही कर्मचारी पक्राउ गरिए पनि छानबिनको दायरा अब फराकिलो पारेर लगिने बताए । ‘अहिले झट्ट हेर्दा प्रहरी मात्रै समातिए भन्ने गुनासा आएका छन् । तर, त्यो मात्रै होइन’, समितिका संयोजक पौडेलले भने, ‘भन्सारका कर्मचारी पनि हाम्रा निगरानीमा छन् । विमानस्थल मात्रै नभई स्थलमार्गबाट हुने तस्करीबारे पनि अनुसन्धान गर्छौं ।’

पौडेलका अनुसार सबैभन्दा बढी सुन तस्करी हुने भनिएको तातोपानी र केरुङ भन्सारको फाइल पनि अनुसन्धानका लागि खोलिएको छ । प्रहरीले पछिल्लो दुई वर्षयता मात्रै सुनमा पक्राउ परेका व्यक्तिविरुद्ध संगठित अपराध मुद्दा चलाउँदै आएको छ । त्यसअघि सुन बरामद भएपछि घटना सार्वजनिक गर्ने र थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाउँदै आएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेको ३३ किलो सुन र महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुन प्रकरणमा सामान्यतया गहिरो छानबिन भएको भनिएको थियो । केरुङ नाकाबाट तस्करी भएको उक्त सुन प्रकरणका मुख्य आरोपी चिनियाँ नागरिक उम्किए भने प्रहरी संलग्नताको विषय अझै रहस्यपूर्ण छ ।

३३ किलो सुन प्रकरणमा अनुसन्धान हुँदा समितिको सिफारिसमा पक्राउ परेर मुद्दा चलाइएका प्रहरी अधिकारी पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल र एसएसपी खत्रीका सवारी चालक विष्णु खड्का मोरङ प्रहरीको हिरासतमा छन् । यीबाहेक अन्य व्यापारी र होटल व्यवसायी पनि छन् । फरार एसएसपी खत्रीलाई पक्राउका लागि प्रहरी मुख्यालयले देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिसकेको छ ।

एसपी खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहँदा सीआईबीले ३३ किलो सुन बरामद गरेको थियो । तत्कालीन समयमा गोरे उपनामका चूडामणि उप्रेती सुनका मुख्य कारोबारी रहेको भन्दै उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखिएको छ । विमानस्थलमै रहँदा मानवतस्करी मुद्दामा मुछिएका एसपी खनाललाई तत्कालीन डीआईजी नवराज सिलवाल नेतृत्वको सीआईबीले ‘क्लिन चिट’ दिएका थिए । एसएसपी खत्री मुछिए तर गोरेसँग प्रत्यक्ष सम्पर्क रहेका खनालको कतै नाम आएन । सीआईबीले गोरेलाई फरार सूचीमा राख्दा उनको सम्पर्क खनालसँग रहे÷नरहेको विषयमा समेत समितिले अनुसन्धान गरिरहेको छ ।

खनाल विमानस्थलमा रहँदा विमानस्थलको सुरक्षा नेतृत्व डीआईजी विजयलाल कायस्थ (हाल अवकाशप्राप्त एआईजी) ले गरेका थिए । एसएसपी खत्री कायस्थका सहयोगी (ट्वाईसी) थिए । सीआईबीले ३३ किलो सुन बरामदको समयमा कायस्थसँग समेत सोधपुछ गरेको थियो । कायस्थ र सिलवाल एउटै ब्याची भएका कारण पनि अनुसन्धान प्रभावित भएको आकलन सुरक्षा अधिकारीहरूको छ । तत्कालीन समयमा मुछिएका आरोपीमध्ये एक एसएसपी श्याम खत्री अदालतको आदेशमा धरौटीमा छुटे ।

खनालले अहिले समितिको बयानमा तर्क गरेका छन् ‘गोरेसँग मेरो सम्पर्क भएकै हो तर सुन तस्करी प्रकरणमा होइन । विमानस्थलमा मेरो भूमिकाले मात्रै सुन तस्करी सम्भव छैन, त्यहाँ भन्सार छ । भन्सारमा प्रहरीको कुनै भूमिका हुँदैन ।’ खनालले बयान दिएजस्तै सीआईबीले तत्कालीन समयमा भन्सार अधिकृतदेखि एक्सरे मेसिनमा ड्युटी गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । तर, तस्करले भन्सार मिलाए पनि तस्करीको सामग्री विमानस्थल बाहिरसम्म निकाल्न प्रहरीको भूमिका रहने दाबी विमानस्थलमै बसेका पूर्वअधिकृतहरूको छ ।

सुन बरामद घटनामा यसअघि प्रहरीले नै छानबिन गर्दै आएको थियो । तर, यसपटक भने प्रधानमन्त्री केपी ओलीले नै चासो दिएपछि गृहले सहसचिव पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको हो । प्रहरी मात्रैको छानबिन पूर्वाग्रही हुने र आफ्नै संगठनका सदस्य मुछिएपछि छानबिन फितलो देखिने भएकाले गृहले सहसचिव नेतृत्वको समिति बनाएको हो । समितिले हालसम्म केलाएको पाटोअनुसार माघ ९ गते विमानस्थलबाट सानु बनले सुन ल्याएर मध्यबानेश्वर पु¥याउँछन् । बनले सुन सनम शाक्य (गोरेद्वारा हत्या गरिएको भनिएका व्यक्ति) लाई बुझाउनुअगाडि नै सुन गायब भएपछि अनुसन्धान रहस्यको मोडमा पुगेको हो । समितिले अहिले यही बिन्दुमा रहेर सुनको सोधखोज गरिरहेको छ ।

संगठित अपराध अनुसन्धानमा अनुभवी मानिने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी विमानस्थलबाट हुने सुन तस्करी प्रहरी मात्रैका भूमिकाबाट सम्भव नभएको बताउँछन् । विमानस्थलमा प्रहरी निरीक्षक भएर काम गरिसकेका उनले भने, ‘विमानस्थलमा भन्सार छ, विभिन्न एयरलाइन्स कम्पनी छन् र त्यसबाहेक अन्य सुरक्षा एजेन्सी छन् । संगठित अपराध भएकाले प्रहरी मात्रै मतियार हुन सक्दैन । समितिले अन्य एजेन्सीमाथि पनि छानबिन अगाडि बढाउनुपर्छ ।’ विमानस्थलमै डीआइजी हुँदा सुरक्षा नेतृत्व गरेका पूर्वएआईजी विज्ञानराज शर्मा पनि विमानस्थलमा प्रहरी मात्रैको मिलेमतोमा तस्करी सम्भव नभएको बताउँछन् । समितिलाई उनले सुझाव दिए, ‘छानबिनको दायरा फराकिलो पार्दै जाने हो भने धेरै रहस्य बाहिर आउन सक्छ ।’

Leave a Reply